काभ्रे । पाँचखाल नगरपालिकाका कृषकहरुले सरकारसँग रासायनिक मल माग्दै प्रर्दशन गरेका छन् । आलु तथा अन्य तरकारी बाली लगाउने समयमा मल अभाव भएको भन्दै कृषकहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनका लागि कृषकहरुले संर्घष समिति गठन गरेका छन् । कृषकहरुले राजनीतिक दलका उम्मेदवारहरुलाई मत माग्न मल लिएर आउन अनुरोध गरेका छन् ।
‘एक वर्ष देखि लगातार कृषकहरुले मल पाउन सकेका छैनन्’–अगुवा कृषक एवं संर्घष समितिका सयोजक ज्ञानबहादुर थापाले भन्नुभयो–‘पाँचखालको कृषि योग्य नगरमा आलु तथा अन्य तरकारी खेति लगाउने मुख्य समयमा मलको अभाव छ ।’ मलको अभाव हुँदा स्थानीय सरकारले पनि चासो नदिएको कृषकहरुको गुनासो छ ।
कृषकहरुले नगरपालिका, जिल्ला प्रशासन कार्यालय, कृषि सामाग्री संस्थान लगायतका स्थानमा ज्ञापनपत्र बुझाउँदै संर्घषका कार्यक्रम सार्वजनिक गरेका छन् । कार्यक्रम अन्तर्गत कार्तिक ३ गते जिल्ला प्रशासन कार्यालय र पाँचखाल नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् भने कार्तिक ४ गते ३० मिनेट अरनिको राजमार्ग बन्द गरिएको छ । कार्तिक ५ गते नारा जुलुस सहित १ घन्टा नगरपालिका परिसरमा जम्मा भई नगरपालिकाहरुमा धर्ना दिने, कार्तिक ६ गते कृषि शाखामा धर्ना दिने र कार्तिक १३ गते देखि आनिश्चतकालिन अरनिको राजमार्ग बन्द गर्दै पाँचखाल नगरपालिका कार्यालय र १३ वटै वडा कार्यलयमा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । ‘हामीले शान्तिपूर्ण रुपमा आन्दोलनका कार्यक्रमसँगै कृषकहरुका समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापन पत्र बुझाएका छौं’–संयोजक ज्ञानबहादुर थापाले भन्नुभयो–‘समयावधी भित्रै मल उपलब्ध गराउन नसके आन्दोलनका कार्यक्रम शशक्त पार्नेछौं ।’