लिंक इन्टरनेशनल म्यानपावरको रहस्य खुल्दै

165
काठमाडौं । नेपाल सरकारद्धारा स्वीकृत प्राप्त एक मेनपावर कम्पनीले भारतीयको इशारामा काम गर्ने गरेको खुलेको छ । भारतबाट आफू अनुकुलको धन्दा गर्न नसक्ने भएपछि भारतीयकै इच्छामा नेपालबाट अवैद्य धन्दा सञ्चालनका लागि बसुन्धारास्थित लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि.लाई प्रयोगमा ल्याइएको हो ।
नेपाल सरकारद्धारा वैद्यानिक दर्ता भएता पनि लिंक इन्टरनेशनल मेनपावर कम्पनी पूर्ण रुपमा भारतीय दलालद्धारा सञ्चालनमा रहेको खुलेको छ । यसका लागि नेपालका सञ्चालकले आम्दानीको निश्चित प्रतिशत कमीशनमा चित्त बुझाउने गरेका छन् । यसअघि फाट्टफुट्ट कामदार विदेशका विभिन्न मुलुकमा उड्ने गरेको भए पनि भारतीयको साझेदारीमा जोडीएपछि बसुन्धारास्थित लिंक इन्टरनेशनलमा निकै चहलपहल बढेको छ । त्यहाँबाट कामदार विदेश उड्ने क्रम बर्षात्को भेल जस्तै गरी उर्लीएको अवस्था छ ।
भारतको मुम्बई शहरमा मुख्य कार्यालय रहेको र भारतमै दर्ता रहेको (BO126/MUM/PER/1000+/5/4767/96) लिंक इन्टरनेशनल प्लेसमेन्ट http://www.linkindiamanpower.com सर्भिसको इशारामा नेपालस्थित लिंक इन्टरनेशनल मेनपावर सञ्चालनमा ल्याएको हो । श्रम इजाजत नम्बर (८२१/०६६/०६७) रहेको साविकको नाईल ओभरसिज प्रा.लि.ले भारतीय दलालकै निर्देशनमा नाम परिवर्तन गरी दुरुस्त नाम राख्न लगाएको हो ।
नेपाली श्रमिक पठाउने सन्दर्भमा भारतीय साझेदारसँग सहकार्य भएको लिंक इन्टरनेशनल मेनपावर कम्पनीकै एक कर्मचारीले स्वीकार गरे । उनले भने, ‘डिमाण्ड दिने, जाने श्रमिकलाई काममा लगाउने, कम्पनीमा कुनै समस्या आई परे सामाधान गर्ने, कम्पनी हेराफेरी गर्ने लगायतका सबै काम मुख्य कार्यालयबाटै खटाइएका कर्मचारीबाट हुने गर्छ ।’ तर, आफूलाई व्यवसायका सन्दर्भमा भएको समझदारी अर्थात् सर्त बारे भने खासै जानकारी नभएको बताए ।
मेनपावरको नाम मात्र मिल्नु संयोग मान्न सकिन्छ । तर, कम्पनीको लोगो र गर्ने व्यवसायीक क्रियाकलाप समेत हुबहु मिल्नु अर्थात् उतैको निर्देशनलाई पूर्णरुपमा पालना गर्नुलाई के भन्ने ? समाचार स्रोतका अनुसार भारतीय कामदारले रोजगारदाताका तर्फबाट प्राप्त गर्ने सेवा/सुविधा र पारिश्रमिक नेपालीको भन्दा निकै बढी छ । र, नेपालीलाई जहाँ जस्तो काम लगाउँदा पनि कुनै गुनासो नगर्ने भएकाले लिंक इन्टरनेशनल नामको कम्पनीका तर्फबाट खाडी मुलुकका कम्पनीमा लिइएको मागपत्र अफ्ठ्यारो र गुनासो आइरहने कामको मागपत्र नेपालका लागि बनाउने गरिन्छ ।
एउटै कम्पनी, उही काम पनि भारतीयले भन्दा नेपाली श्रमिकले कम पारिश्रमिक पाउने गर्छन् भने कतिपय अवस्थामा ओभरटाइम समेत उपलब्ध गराइँदैन । कुनै गुनासो गरेको खण्डमा जागिरबाट हटाइदिने, अन्यत्र सारिदिने जस्ता धम्की मुख्य कार्यालयबाट खटाइएका कर्मचारीले नेपाली श्रमिकलाई दिने गर्छन् । जतीसुकै पेलानमा परे पनि वा पारिश्रमिकको सन्दर्भमा गुनासो रहे पनि नेपाली श्रमिकको गुनासो सम्वोधन हुँदैन ।
खसीबाख्रा बेचिएकै शैली अपनाइन्छ । भारतीय र नेपाली कामदार एकै ठाउँमा काम गर्दा प्राप्त हुने पारिश्रमिक र सेवा सुविधाका बारेमा कुनै नेपालीले गुनासो गर्यो र त्यो कामदार हिन्दी र अंग्रेजी भाषा बुझ्ने र कुरा गर्न सक्ने रहेछ भने उसलाई या त तत्कालै अर्काे कम्पनीमा स्तानान्तरण गरिन्छ वा नेपाल फर्काउने सम्मको हर्कत अपनाइन्छ । थुप्रै नेपाली कामदार भेदभाव बारे गरेको गुनासोकै कारण नेपाल फर्काइएको र उनीहरुले क्षतीपूर्ति समेत नपाएको पनि भेटीएको छ ।
खाडीका विभिन्न मुलुकमा नेपाली श्रमिक पठाउँदा सरकारले नि:शुल्क वा न्यूनतम शुल्क तोकेको भएपनि लिंक इन्टरनेशनल मेनपावर कम्पनीले प्रति कामदार साढे २ लाखदेखि ३ लाखसम्म असुल गर्ने गरेको छ । र, पनि वैदेशिक रोजगार विभाग यस बारेमा मौन छ । एउटै नाम, एउटै उद्देश्य, एउटै लोगोका सन्दर्भमा जिज्ञांसा राख्दा वैदेशिक रोजगार विभाग यस बारे अनुसन्धान गर्नै पर्ने बताउँछ ।