प्रहरीले कुटपिट गरेको भन्दै स्थानीयले गरे चक्काजाम, प्रहरीद्वारा अश्रुग्यास प्रहार

72

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयामा स्थानीयवासीले नाराजुलुससहित चक्काजाम गरेका छन्।

मिर्चैया नगरपालिका–१ रामपुर बिर्ताकी ६२ वर्षीया गुबदीदेवी साह हलुवाईको हत्या अनुसन्धानका क्रममा उनकै बुहारी जिबछीदेवी साहलाई प्रहरीले नियन्त्रणमा लिइ अमानवीय तरिकाले कुटपिट गरेको भन्दै विरोधस्वरुप स्थानीयले सोमबार मध्याह्ननदेखि चक्काजाम गरेका हुन्।

आक्रोशित स्थानीयले दोषी प्रहरीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय घेराउ गरी नारा लगाएका थिए। प्रहरीले चक्काजाम खोलाउन दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

सो क्रममा करिब आधादर्जन प्रहरी पनि घाइते भएका छन्। एक जना प्रहरीको टाउको फुटेकाले उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि ओलीले बताए।

गुबदीदेवी साह हलुवाईको शव १५ असोजमा कर्जन्हा नगरपालिका–११ भलुखोला छेउको उखुघारीमा भेटिएको थियो। उनको अघिल्लै दिन हत्या गरी फालिएको हुन सक्ने अनुमान छ।

अघिल्लै दिन खेत रुङ्न गएकी गुबदी नफर्केपछि भोलिपल्ट बुहारी जीबछी र गुबदीकी छोरी ललिता खोज्न जाँदा खेत नजिकै उखुबारीमा शव भेटिएको हो। ललिताको घर पनि प्रयागपुरमै भएकाले छोरीकै घरमा राति बस्यो होला भनेर भोलिपल्ट बिहान ललितालाई फोन गरी बुझ्दा नआएको भनेपछि खोज्न थालिएको परिवारको भनाइ छ।