पहिरोपछि ४१ परिवारको विद्यालयमा बास

84

अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिका–७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन् । उनीहरु हाल विद्यालयमा बसेका छन् । पहिरोको उच्च जोखिमका कारण विस्थापित बनेका ४१ दलित परिवारका एक सय ६१ जना विस्थापित बनेका वडा अध्यक्ष चुराबहादुर केसीले जानकारी दिनुभयो । उनीहरुलाई स्थानीय चन्द्र प्रभा माध्यमिक विद्यालयको भवनमा राखिएको छ । चार गर्भवती र चार सुत्केरीसमेत विद्यालयमा बसेका छन् ।

गाउँका केही घर पहिराले भत्किएका छन् । केही घर उच्च जोखिममा छन् । सिङ्गो गाउँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताउनुभयो ।

विद्यालयमा बसेका पहिरो पीडितलाई उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटीले राहत प्रदान गरेको छ । उद्योग वाणिज्य सङ्घ अर्घाखाँचीले चामल, दाल, तेल, नुनलगायतका खाद्य सामग्री पहिरो पीडितलाई हस्तान्तरण गरेको उद्योग वाणिज्य सङ्घका महासचिव तुल्सी खनालले बताउनुभयो । पहिरोमा परेर घर गुमाएका भुजुंगेका दलित परिवारलाई २० थान कम्मल र २० थान म्याट प्रदान गरेको नेपाल रेडक्रस सोसाइटीका अर्घाखाँची शाखाका सभापति कुशल भुसालले जानकारी दिनुभयो ।
अर्घाखाँचीमा अविरल वर्षाका कारण खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । एक बालक खोलाले बगाएर बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताउनुभयो । पहिरोले अर्घाखाँची जिल्लामा एक सय ११ परिवार विस्थापित भएका छन् । उनीहरुलाई विद्यालय, आफन्तको घर तथा सार्वजनिक स्थानमा बसोबासको व्यवस्था मिलाइएको प्रजिअ घिमिरेले बताउनुभयो ।
–––