Friday, October 23, 2026
Home राजनीति रूपन्देही २ मा विष्णु पौडेललाई चिठ्ठा

रूपन्देही २ मा विष्णु पौडेललाई चिठ्ठा

203

रूपन्देही । जिल्लाको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका राजु गुरूङको उम्मेदवारी खारेज भएसँगै नेकपा एमालेबाट उम्मेदवारी दिएका उपाध्यक्ष विष्णु पौडेललाई चुनाव लड्न सजिलो भएको छ।
गत वैशाखमा भएको स्थानीय चुनावमा रूपन्देही २ का पालिकाहरूमा वडाध्यक्षले पाएको मत हेर्दा सत्ता गठबन्धन दुई हजारभन्दा बढी मतले अघि देखिन्छ।

२३ वडा रहेको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले १६ वडा जितेको थियो। ६ वडामा एमालेले जित्दा एउटामा स्वतन्त्रले जितेका थिए।
यहाँ नेकपा एमालेबाट वडायक्षका उम्मेदवारहरूले ३३ हजार १ सय ८७ मत ल्याएका थिए भने सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसबाट ३४ हजार ९ सय ५९ मत, माओवादी केन्द्रबाट तीन हजार एक सय ८८, नेकपा एकीकृत समाजवादीले एक हजार तीन सय ८२ मत ल्याएका थिए। यो क्षेत्रमा राप्रपाले तीन हजार नौ सय २० मत ल्याएको थियो। राप्रपा, एमाले र जसपा गर्दा यो क्षेत्रमा ३७ हजार दुई सय ९० मत हुन्छ भने सत्ता गठबन्धनको ३९ हजार ६ सय ८३ मत पुग्छ। दुई हजार तीन सय ९३ मतान्तर भएको यो क्षेत्रमा सत्ता गठबन्धन उम्मेदवारविहीन हुने भएको छ।

सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका गुरूङले यहाँ टिकट पाएका थिए।
अदालतले बैंकिङ कसुरमा गुरूङलाई जरिवाना गरेकाले उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै आयोगले उम्मेदवारी खारेज गरिदिएको हो।
विगतमा गुरूङको फर्मका ८ वटा चेक बाउन्स भएको थियो। सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार बेलुकी निकालेको विज्ञप्तिमा गुरूङको मनोनयन खारेज हुने गरी निर्णय भएको उल्लेख गरेका थिए।
गुरुङलाई अदालतले बैंकिङ कसुरमा दुई हजार रूपैयाँ जरिवाना गरेको र उक्त जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो।