महानगरले पोखरालाई खेलकुदमय बनाउन सघाउने

66

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले प्रतियोगिता भव्य बनाउन आफ्नो तयारी सुरु गरेको छ । महानगरले प्रचारप्रसारका माध्यमबाट पोखरालाई खेलकुदमय बनाउन सहरका मुख्यस्थल र महानगरका प्रवेश नाकामा स्वागतद्वार र प्रचार सामग्री राख्ने भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन महानगरले आफ्नातर्फबाट काम अघि बढाएको हो । महानगर प्रमुख धनराज आचार्यले पोखरा खेलकुदमय भएको छ भन्ने हिसावले प्रतियोगिताको प्रचारप्रसारका विषयमा सरोकारवाला निकायसँग बसेर दसैँलगत्तै यसलाई सुरु गरिने बताए ।

उनले भने, “पोखरा खेलकुदमय छ भन्ने महसुस गराउन हामीले विज्ञापनका लागि विद्युतिय डिस्प्ले बोर्ड, रोड ब्यानर, स्वागत गेटलगायतबाट प्रचारप्रसार गर्नेछौँ ।” महानगरपालिकाले पोखरा आउने खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई यातायात, होटल, सपिङ मललगायतमा छुट तथा सहुलियतका लागिसमेत सम्बन्धित पक्षसँग आह्वान गरिने जनाएको छ ।