उपत्यकामा डेंगु महामारी बढ्दै

41

काठमाडौँ । राजधानी काठमाडौँमा डेंगुले महामारीको रूप लिन थालेको छ। जेठमा धरानबाट सुरु भएको डेंगुको संक्रमण मध्य भदौबाट काठमाडौँमा देखिन थालेको थियो। अहिले डेंगुको आशंकामा अस्पताल पुगेकामध्ये झण्डै ९० प्रतिशत बिरामीमा संक्रमण भेटिएको तथ्यांक छ।

देशभर डेंगु संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रव्यापी प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिसकेको छ।

उपत्यकाका तीन जिल्लामा मात्रै कुल संक्रमणको ५८.६७ प्रतिशत संक्रमित छन्। काठमाडौँमा पछिल्लो १९ दिनमा सबैभन्दा बढी ३ हजार ९ सय १० जनामा संक्रमण पुष्टि भएको छ। डेंगु संक्रमणलाई सामान्य ठानेर लापरबाही गरे पनि बिरामीको ज्यान जान सक्ने चिकित्सकले बताएका छन्। उनीहरूले डेंगुको आशंका हुने बित्तिकै चिकित्सकको सल्लाह लिन पनि आग्रह गरेका छन्।

बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि दुई जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमध्ये एक जना संक्रमितमा कुनै पनि दीर्घ रोग नभएको र एक जनामा पहिल्यैबाट दीर्घ रोग भएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए। मृत्यु हुनेमा २७ वर्षीय युवकमा डेंगुबाहेक अरु रोग थिएन। यस्तै, डेंगुबाटै मृत्यु हुनेमा ३५ वर्षीय पुरुष भने पहिल्यै कलेजोका रोगी थिए। हालसम्म नेपालमा डेंगुका कारण २१ जनाको मृत्यु भइसकेको छ।

उता, राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगुबाट एक साता अघिसम्म मृत्यु भएका ११ जनामध्येमा सात जना डेंगु संक्रमणकै कारणले मात्र मृत्यु भएको थियो। अन्य चार जना भने अन्य रोगबाट पनि ग्रसित थिए। किटजन्य रोग नियन्त्रण महाशाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार मृत्यु हुनु ढिला उपचारमा पुग्नु नै मुख्य कारण रहेको छ।