कर्मचारीले पाएनन् साउनदेखि तलब

43

बाँके । दशैँको १५ दिनअघि नै तलब आउँछ, पेश्कीसहित। पेश्कीसहितकाे तलब आएसँगै सरकारी कर्मचारीको घरपरिवारमा छाउँछ- खुसीयाली।

तर, बाँकेको डुडुवा गाउँपालिकाका कर्मचारीले यसपाली दशैँमा यो खुसीयाली मनाउन नपाउने सम्भावना बढ्दै गएको छ। यतिबेला कर्मचारीहरू ‘दशैँमा समेत तलब खान नपाइने भयो, कसरी दशैं मनाउने?’ भनी चिन्तित रहेका छन्।

डुडुवाका कर्मचारीले साउनदेखि नै तलब खान पाएका छैनन्। यो पालिकामा अहिलेसम्म गाउँसभा हुन सकेको छैन। कार्यपालिकाको बैठक नै बस्न नसक्ने अवस्था रहेको छ। कांग्रेस एकातिर र जसपा-एमाले अर्कोतिर रहेका छन्। गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र एक जना वडाध्यक्ष कांग्रेसको छ।

जसपाको तीन जना वडाध्यक्ष र एमालेको दुई जना वडाध्यक्ष छन्। कार्यपालिका सदस्य जसपा र एमालेले बराबरी बाँडेका छन्। पहिलो कार्यकालमा अध्यक्ष नरेन्द्र चौधरीले पेलेर लगेकाले यसपाली जसपा र एमालेले नत्थी लगाउने रणनीतिका साथ अघि बढेका छन्। अध्यक्ष चौधरीसँग बहुमत नहुँदा र बहुमत रहेको जसपा र एमालेले विभिन्न मागहरू अघि सार्दा कार्यपालिका बैठक बस्न नसकेकाे हाे।