प्रचण्ड रहेसम्म देशले सुख पाउँदैन भन्ने मान्छे छन्ः प्रचण्ड

72

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका छन्। बिहीबार काठमाडौँमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दे उनले यस्तो आरोप लगाएका हुन्।
उनले भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा अहिलेको शासन प्रणालीमा कतै खोट छ भन्नेबारेमा विचार गर्न आवश्यक रहेको पनि बताए। भ्रष्टाचारीलाई कारबाही गरी भ्रष्टाचार गर्नेलाई स्थान नदिने शासन प्रणालीको विकास हुन जरुरी रहेको उनको भनाइ छ।
प्रचण्डले भने, ‘हामीले प्रधानमन्त्रीहरुले भन्ने गरेको सुनेका छौँ, म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड, टाँग्ने अनि त्यो साइनबोर्डभित्र भ्रष्टाचारबाहेक अरु केही गर्दै नगर्ने। के कारणले यो भइरहेको छ? यो व्यक्तिको मात्रै दोष हो कि, प्रणालीमा कतै खोट छ भन्ने कुरा सबैले विचार गर्नुपर्छ। प्राणालीमा सुधार गर्न आवश्यक छ।
अध्यक्ष दाहालले निर्वाचन प्रणाली र शासन प्रणाली सुधारेर अहिलेको विकृति, विसंगतिलाई सुधार्न सकिने बताए। उनले प्रचण्ड अस्थिरताको कारक हो भन्ने मानिसको कमि नरहेको र प्रचण्ड रहेसम्म देशले सुख नपाउने भन्ने कुरा पनि केही मानिसहरुले गर्ने गरेको पनि बताए।
उनले थपे, ‘एकातिर निर्वाचन प्रणाली सुधारेर र शासन प्रणालीमा सुधारेर विकृति विसंगतिलाई सुधार्न सकिन्छ। यो कुरा भन्दै गर्दा एकथरीलाई माओवादी, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक सबैले अधिकार पाउनुपर्छ भन्नेकुरा मन नपर्ने मान्छे पनि त छन्। तपाईंलाई थाहा छ– प्रचण्ड भनेपछि सब अस्थिरताको कारक यही हो, यो रहेसम्म देशले सुख पाउने भएन भन्ने पनि मान्छे छन्। माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरुलाई चैनमा बस्न दिइँदैन, यो कुरा पक्का हो।’