लीको भ्रमणले काठमाडौँमा ट्राफिक जाम, आज यी क्षेत्रमा प्रभावित हुने

57

काठमाडौँ । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।
उनको नेपाल आगमनको तयारीका लागि बाटो खाली गरिँदा सोमबार दिउँसोदेखि बेलुकासम्मै काठमाडौँ उपत्यकाका मुख्य सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो।
सर्वसाधारण यात्रुले सास्ती पाएका थिए। मंगलबार बिहानैदेखि पनि काठमाडौँका मुख्य क्षेत्रको सवारी व्यवस्थापन खराब बनेको छ । ली दिनभर नै उच्चस्तरीय भेटघाटमा व्यस्त हुने हुँदा ट्राफिक व्यवस्थापनका कारण सर्वसाधारणले थप दुःख पाउने भएका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले भने, ‘भिआइपीको आगमनले ट्राफिक व्यवस्थापनमा केही कठिनाइ भएको छ । दिनभर नै बेला-बेला सवारी व्यवस्थापन सामान्य हुने र कुनै बेला कठिन हुने देखिन्छ।’
ट्राफिक व्यवस्था सक्दो सामान्य बनाउन आफूहरू प्रयासरत रहेको उनले दाबी गरेका छन्।
तर बिहानैदेखि मुख्य क्षेत्रमा सवारी चाप अत्यधिक देखिएको छ। आन्तरिक तथा बाह्य नेताको भ्रमणका नाममा बाटोको व्यवस्थापन अस्तव्यस्त हुने परम्परा नतोडिएको भन्दै सर्वसाधारण भने आक्रोशित भएका छन्।

आज कहाँ-कहाँकाे क्षेत्र प्रभावित हुने? 
आज बिहान पौने ९ बजेको आसपासमा रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएकाे छ।
साढे ११ बजेको आसपासमा: तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी र सोल्टी होटल आसपासका क्षेत्र
अपरान्ह साढे ३ बजे:  रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली र पद्मोदयमोड आसपासका क्षेत्र
अपरान्ह साढे ४ बजे: आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्र
उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई काठमाडाैँ ट्राफिक प्रहरी कार्यालयले अनुरोधसमेत गरेको छ।