काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन्। आइतबार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएका हुन्।
मन्त्री खड्काले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरुसँग पनि कुरा गरिरहेको जानकारी दिए। उनले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिबद्धता जनाए।
उनले दसैँअघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने दाबी गरे। उनले सोमबार चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलबार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै उनीसँगको भेटमा नाका सञ्चालनबारे कुरा राख्ने बताए।
मन्त्री खड्काले भने, ‘चाँडोभन्दा चाँडो आयात निर्यातको खुला गर्ने कुरा गरिरहेको छु। यो चापलाई जकिसक्दो चाँडो खुलाउनुपर्यो भनिरहेको छु। भोलि चिनियाँ राष्ट्रिय कांग्रेसका सभामुख नेपालको तीन दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। यसबारेमा मसँग पर्सी शिष्टाचार भेटको कार्यक्रम छ, त्यो बेलामा पनि म भनौँला। यसलाई म तदारुकताका साथमा दसैँभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने हिसाबले पहल गर्नेछु। यहाँहरुको माग पूरा गर्नका लागि हामी सक्षम हुनेछौँ।’
ज्ञापन पत्र बुझाएपछि नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले अब पनि कोरोनाको नाममा नेपालले नाकामा गर्ने व्यापार रोक्नु नहुने बताए। उनले सरकारले आगामी दिनमा चाँडै नै नाकामा हुने व्यापार, व्यवसाय धेरै सुधार गर्दै जाने अपेक्षा राखेको बताए।














