निर्माण सम्पन्न नहुँदै सडक चिराचिरा

62

धनगढी । मोहना पुल अत्तरिया ६ लेन सडक निर्माण कार्य सम्पन्न नहुँदै फुट्न थालेको छ । त्रिनगर भन्सारदेखि नै ठाउँ ठाउँमा सडक फुटेको छ । साढे दुई अर्बको लगानीमा २०७१ मा निर्माण थालिएको सडकको काम पाँच पटक म्याद थप्दा समेत सम्पन्न हुन सकेको छैन ।
तीन खण्डमा ठेक्का लगाएको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेपछि निर्माण कम्पनीको लापरबाहीको आरोप स्थानीयको आरोप छ । ‘अर्बौँको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेको छ,’ धनगढीका व्यवसायी सुन्दर श्रेष्ठले भने, ‘निर्माण कम्पनीको लापरबाहीका कारण यस्तो समस्या आएको हो, सरकारले निर्माण व्यवसायीलाई कारबाही गर्नु पर्दछ ।’
तर, ६ लेन सडक आयोजना कार्यालय धनगढीले भने सवारीको क्षमताभन्दा बढी सामान ढुवानी हुँदा सडक फुट्ने समस्या आएको जनाएको छ । ‘अहिले फुटेको ठाउँ मर्मत गर्न हामीले निर्माण कम्पनीलाई भनिसकेका छौँ । उनीहरूले मर्मत पनि गर्लान्,’ ६ लेन सडक आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर भुवन भट्टले भने, ‘तर, त्यसको यथार्थ कारण बुझेनौँ भने मर्मत गरेर केही हुनेवाला छैन । सडक सुरक्षित बनाउन मालवाहक सवारीलाई क्षमताभन्दा बढी लोड बोक्नबाट रोक्नु जरुरी छ ।’
मालवाहक सवारी साधनको भारवहन निर्देशिका २०७४ अनुसार अघिल्लो तर्फ चालक र सहचालकसहित ३ जना यात्रु र पछाडि एक्सलको संख्या अनुसार १२ टनदेखि माथि सामान ओसार्न पाइने व्यवस्था छ । जसअनुसार चार पांग्रे सवारीले १२ टन, ६ पांग्रे सवारीले १६ दशमलव २ टन, १० पांग्रेले २५ टन, १२ पांग्रे सवारीले ३१ टन, १४ पांग्रे सवारीले ३५ टन र १८ पांग्रे सवारीले ४० दशमलव २ टन सामग्री बोक्न पाइने व्यवस्था रहेको छ ।
तर, त्यसको नियमन नहुँदा सवारीले तोकेकोभन्दा बढी तौल बोक्ने गरेको इन्जिनियर भट्ट बताउँछन् । सवारीले क्षमताभन्दा बढी सामान बोक्दा सडकमा सवारीको असन्तुलित चाप बढ्ने र त्यसले सडक नै भासिने गरेको उनले बताए ।
‘सडक सुरक्षाका लागि सवारीको लम्बाई, चौडाइ र उचाइ अनुसार भारको सन्तुलन मिलाएर सवारी चलाउनु पर्ने हुन्छ,’ उनले भने, ‘सानो सवारीमा धेरै लोड राख्दा सन्तुलन नमिलेर सडक चर्किने र भासिने हुन्छ । अहिले ६ लेनको हकमा पनि त्यही भइरहेको छ ।’