काठमाडौँ । नेपाली कांग्रेसले आगामी संघ र प्रदेश सभा निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजक महामन्त्री विश्वप्रकाश शर्मालाई तोकेको छ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवाले शर्मालाई निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। शर्माले पार्टीले आगामी पाँच बर्ष गर्ने कार्यक्रम समेटेर घोषणापत्र तयार पार्ने जिम्मा पाएका हुन्।
संयोजक शर्माले समितिका सदस्यहरु मनोनित गरेर छिट्टै काम थाल्ने पार्टीका कार्यालयका सचिव एवं सूचना अधिकारी केशव रिजालले बताए। रिजालका अनुसार कार्तिक पहिलो हप्तासम्म पार्टीको घोषणापत्र तयार हुन्छ। स्थानीय तहको निर्वाचनको घोषणापत्र पार्टीका अर्का महामन्त्री गगन थापाले तयार पारेका थिए।