चीनमा भूकम्प, ७४ जना मृत्यु

40

काठमाडौँ । चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । पछिल्लो विवरण अनुसार सो भूकम्पमा परेर अझै २६ जना बेपत्ता रहेका छन् ।

पछिल्लो विवरण अनुसार गान्जी प्रान्तमा ४० जनाको ज्यान गएको छ भने १४ जना बेपत्ता भएका छन् । सो क्षेत्रमा अरु १७० जना घाइते भएका बताइएको छ । यान सहरमा ३४ जनाको मृत्यु भएको छ भने अरु १२ जना बेपत्ता भएका छन् ।

उक्त सहरमा अन्य ८९ जना घाइते भएका सहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ । सिचुआन प्रान्तको प्रान्तीय राजधानी चेङ्दुमा भूकम्पका कारण लाखौं मानिस प्रभावित भएका बताइएको छ ।

त्यसको नजिकैको सहर चोङचिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले जानकारी गराएका छन् । भूकम्पको केन्द्रबिन्दु सिचुआन प्रान्तको काङदिङ सहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सो भूकम्पको केन्द्रविन्दु जमिनी सतहबाट १० किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्प ६.८ म्याग्निच्युडको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जनाएको छ ।

भूकम्पका कारण भौतिक संरचनामा पनि क्षति पुगेको छ । भूकम्पले भत्काएकाले यहाँबाट अन्य सहरमा जाने बाटो पनि अवरुद्ध भएको छ । त्यसैगरी मानिसको बसोबास रहेका कैयौँ क्षेत्रमा दूरसञ्चारका लाइनहरू काटिएकाले सञ्चार सम्पर्क पनि विच्छेद हुन पुगेको छ ।