कार्यकाल बारे संसदमा बहस, यस्तो भयो कुरा

81

काठमाडौँ । आफ्नै कार्यकाल बारे संसदमा बहस भएको छ। कार्यकाल सकिन लागेका बेला कहिलेसम्म अवधि कायम राख्ने भन्ने विषयमा छलफल भएको हो।

प्रमुख प्रतिपक्षी दल एमालेले चुनावपछि पनि संसदको कार्यकाल थप्ने विधेयक फिर्ता लिन माग गरेको छ।
विधेयकमाथि छलफलमा भाग लिँदै एमालेका सांसदहरुले मनोनयन गरेपछि पनि संसदको कार्यकाल लम्ब्याउने कुरा स्वीकार्य नहुने बताएका हुन्।

एमालेका सांसदहरुले विधेयक फिर्ता लिन यदि नलिने हो भने मनोनयनको अघिल्लो दिनसम्म मात्रै कामय हुने गरी कानुन संशोधन गर्न सुझाव दिए।

एमाले सांसद शेरबहादुर तामाङले लोकतन्त्रको इको सिष्टमलाई नै बिगार्ने गरी आएको विधेयक फिर्ता लिन माग गरे। उनले भने, ‘लोकतन्त्रको इको सिष्टमलाई नै बिगार्ने कुरा स्वीकार्य हुन्न। यो संसदमा वाच टाइगरको रुपमा एमाले पनि छ भन्ने हेक्का राख्नुहोस्। मनोनयन पछि पनि संसद कायम राख्ने कुरा हामीलाई मान्य छैन।’

त्यस्तै, सांसद गोकुल बास्कोटाले पनि कार्यकाल बढाउने प्रयास मान्न नहुने जिकिर गरे। आफ्नो संशोधनमाथि सदनमा प्रस्तुत गर्दै बास्कोटाले षड्यन्त्रमार्फत कार्यकाल थप्ने कुरालाई मान्न नसकिने बताए। ‘तीन चार महिनाका लागि आयु थप्ने कुरा स्वीयकार्य हुन्न। गठबन्धन, षड्यन्त्र र परमादेशी आदेशबाट कार्यकाल बढाउने? बास्कोटाले अगाडि थपे, ‘बालुवाटारको अध्यारो कोठामा बसेर एउट एउटा गरेर किस्ताबन्दीमा कार्यकाल थप्ने कुरा स्वीकार्य हुन्न्। असोज २ गते समानुपातिक तर्फका उम्मेद्वारको नाम बन्द सूची बुझाउने तालिका छ। १ गते कार्यकाल सकिनुपर्छ।’

चुनावी प्रतिस्पर्धामा जाँदा कोही सांसदकै हैसियतमा जाने र कोही सामान्य नागरिक भएर जाने कुरा ठीक नहुने बास्कोटाले उल्लेख गरे।