झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको झापा ५ को क्षेत्रीय कमिटीले झापाको क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा प्रतिष्पर्धा गर्न उम्मेदवारीका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत सिफारिस गरेको छ।
सोमबार झापाको दमकमा बसेको क्षेत्रीय कमिटी बैठकले झापा ५ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा उम्मेदवारीका लागि ओलीको नाम सिफारिस गरेको क्षेत्रीय संयोजक तुलसी कार्कीले जनाकारी दिए।
त्यसैगरी, एमालेले झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनमा प्रतिष्पर्धा गर्न रविन कोइरालाको नाम सर्वसम्मत सिफारिस गरेको छ। २०७० सालको संविधानसभा निर्वाचनमा कोइरालाले नेपाली कांग्रेसका विश्वप्रकाश शर्मालाई हराएका थिए। उम्मेदवारको आकांक्षीबाट निवेदन माग गर्दा कोइरालाबाहेक कसैको पनि निवेदन नपरेको एमालेको क्षेत्रीय कमिटीले जनाएको छ। कोइराला पार्टीका केन्द्रीय सदस्य र झापाका सहइन्चार्ज छन्।