१६ हजार बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

61

लमजुङ । लमजुङमा पाँचदेखि ११ वर्षसम्मका १६ हजारभन्दा बढी बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा यहीँ भदौ ७ गतेदेखि १२ गते पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सञ्चालन भएको हो ।

अभियानअन्तर्गत आठ वटै स्थानीय तहका पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका १६ हजार पाँच सय २६ बालबालिकालाई कोरोनाविरुद्ध फाइजर खोपको पहिलो मात्रा लगाइएको जिल्ला स्वास्थ्य कार्यालय लमजुङका कोभिड खोप सम्पर्क व्यक्ति यम बरालले बताए ।

खोप अभियानअन्तर्गत ७ गतेदेखि १० गतेसम्म विद्यालयमा खोप केन्द्र राखी खोप लगाइएको थियो भने ११ र १२ गते विद्यालय बाहिर रहेका तथा खोप लगाउन छुटेका बालबालिकालाई वडा वडामा रहेको स्वास्थ्य संस्थामार्फत खोप सेवा प्रदान गरिएको थियो ।

स्वास्थ्य कार्यालयले अभियानमा पाँच वर्षदेखि ११ वर्ष तथा १२ वर्ष उमेर नपुगेका १९ हजार तीन सय ३९ जनालाई फाइजर खोप लगाउन लक्ष्य लिएको थियो । जसमध्ये ८६ प्रतिशत बालबालिकालाई खोप लगाइएको कार्यालयले जनाएको छ ।

कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत जिल्लाको चार स्थानीय तहमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज लगाउन सुरु भएको छ । खोपको उपलब्धताअनुसार बेंसीशहर, सुन्दरबजार दोर्दी र मर्स्याङ्दी गाउँपालिकाका बालबालिकालाई बुस्टर मात्रा लगाइएको छ ।