अवैध लागूऔषधसहित चार जना पक्राउ

34

काठमाडौं । काठमाडौं, मुगु र तनहुँबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिव ५ केजी गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–१ बस्ने २८ वर्षीय सरोज कुमार साह र २२ वर्षीय नबिन मगर छन् । उनीहरुलाई गएराति प्रहरीले पक्राउ गरेको हो । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख २८८३ नम्बरको टिपरलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा टिपरको सिट मुनि लुकाई ल्याएको उक्त गाँजा सहित टिपरका चालक सरोज र सहचालक नबिनलाई पक्राउ गरेको हो ।

मुगुको छायाँनाथ रारा नगरपालिका–२ ढाँडमोडबाट ५ ग्राम ७ मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–१ सितापुर बस्ने २६ वर्षीया पबित्रा बिसी थापा छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पबित्रालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेबाट करिब २ केजी गाँजासहित स्याङ्जा वालिङ नगरपालिका राममाच्छ बस्ने २५ वर्षीय अनिल गुरूङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९६२१ नम्बरको माईक्रोबसलाई अस्थाई प्रहरी पोष्ट कोत्रेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माईक्रोबसमा सवार अनिललाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।