तिथिको हिसाबले १२ बजेको समयमा द्धापरयुगमा भगवान श्रीकृष्णको जन्म भएको थियो । त्यही अवसर पारेर आज श्रीकृष्णको जन्म जयन्ती विशेष पर्व मनाउने गरिन्छ । कृष्णलीला कथा प्रवचन हुने गरेको छ ।
आजको कृष्ण चरित्र, सुन्ने, हेर्ने र श्रीकृष्ण लीलाहरुको अध्ययन गर्दा सकारात्मक सोच प्राप्त हुनेछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।
कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो । आज कृष्ण मन्दिरमा मेला लाग्ने गर्छ ।
यस दिन व्रतालुहरु रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्दछन् । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने र श्रीकृष्णका विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने गर्दछन् ।
पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।
महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।