‘प्रकाश’ मा सीताकाे क्यारेक्टरले धेरै सिकायाे

149

काठमाडौं । दिया मास्के आउँदो फिल्म ‘प्रकाश’ मा सीताको भूमिकामा छिन् । उनले घरमुलीको भूमिका निर्वाह गरेकी हुन् । त्यसैले त टेलिभिजन शो ‘रोडिज’ मा मोडर्न देखिने दिया यसमा जुम्लाकी एक सामान्य महिलाको रूपमा प्रस्तुत छिन् ।

थियटरमा काम गर्ने कलाकार भएकाले उनले आफ्नो भूमिकालाई जीवन्त बनाउन कुनै कसर बाँकी राखेकी छैनन् । जुम्लामा ४५ दिनको हाराहारीमा छायांकन भए पनि उनी त्यहाँ दुई महिना बसेकी थिइन् । उनी त्यहाँ दुई साता बढी बस्नुको कारण भूमिकालाई जीवन्त बनाउनु थियो ।

सम्पन्नतामा बाल्यकाल बिताएकी मात्र नभई एसएलसीपछि नेपाली भाषा जानेकी दियाले क्यारेक्टरलाई जीवन्त बनाउन गरेको मेहनत त प्रशंसायोग्य छ नै, साथै उनले स्वीकारेको भूमिका पनि आफैँमा च्यालेन्जिङ छ । किनकि उनले अभिनेता प्रदीप खड्काको आमाको भूमिका निर्वाह गरेकी छन् । उनी आफ्नो उमेरभन्दा बढी उमेरको भूमिकामा प्रस्तुत भएकी छिन् ।

श्रीमान् नभए पनि छोरालाई शिक्षक बनाउन संघर्ष गरेकी महिला हुन् सीता । आफ्नो परिवारको निर्णय आफैँले लिनुपर्ने, घरमुलीको दायित्व निर्वाह गर्नुपर्ने सीताले जुम्लाको द्वन्द्वपछि श्रीमान् नभएकी एकल महिलाको भूमिका निभाएकी हुन् । उनी सक्षम छिन्, तर उनलाई सघाउन नयाँ व्यवस्था मितव्ययी छैन । त्यसैले उनी श्रीमानको सपनालाई पूरा गर्न र छोरा शिक्षक बनेको हेर्न संघर्षरत छिन् । ‘सीतामार्फत दियाले धेरै कुरा सिकेकी छिन् । घरमुलीको दायित्वसँगै समाजसँग गर्ने संघर्ष र त्यो जुम्लाको जीवनले धेरै प्रेरणा दिएको छ’ उनले भनिन् ।