पशुपतिनाथमा भक्तजनको घुइँचो ( तस्बिर हेरौं )

43

काठमाडौं । आज साउन महिनाको चौथो सोमबार । विहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साउने सोमबारको ब्रत बस्नुका साथै भगवान शिवको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने र घर परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वासका साथ विहानैदेखि शिवालयमा भक्तजनको भीड लागेको हो ।

हिन्दु धर्मावलम्बी महिलाहरूले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारमा महिलाहरुले भगवान शिवको उपासना गर्दै निराहार ब्रत बस्ने गर्छन् । सोमबार भगवान् शिवको विशेष दिन मानिन्छ । अझ श्रावण महिना र सोमबारको विशेष महत्व छ । श्रावण महिना शिवजीको महिना र सोमबार स्वामीको रुपमा लिइने गर्छन । शवको अर्थ कल्याण हो ।

विधिपूर्वक शिवको आराधना गर्दा सबैको कल्याण चाहने शिव तत्काल प्रसन्न हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास छ ।’त्यसो त देवताहरूमा सर्बोत्कृष्ट भगवान शिवको उपासना गर्ने परम्परा वैदिककालदेखि नै चलेको पाइन्छ ।