गठबन्धनको सिट बाँडफाँट साउन अन्तिमसम्म टुंग्याउने

75

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले साउनभित्रै सिट बाँडफाट गर्ने गरी कार्यदल गठन गरेको छ । आज बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको हो ।

मंसिर ४ मा हुने चुनावका सत्ता गठबन्धनका दलहरूले तालमेल गरेर जाने निर्णय गरिसकेका छन् तर सिट बाँडफाँट चुनौतीपूर्ण छ । स्रोतका अनुसार सिट बाँडफाँटका लागि गठन भएको कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार मन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की छन् । यस्तै कार्यदलमा नेकपा माओवादी केन्द्रबाट नेताहरू वर्षमान पुन र देवप्रसाद गुरूङ छन् ।

नेकपा एकीकृत समाजवादीबाट नेताहरू प्रमेश हमाल र बेदुराम भुषाल कार्यदलमा छन् भने जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेमजोङ कार्यदलमा छन् । राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन्। सरकारका प्रवक्ता कार्कीले भने कार्यदल गठनबारे जानकारी दिएनन् । उनले मंसिर ४ मा हुने चुनावमा सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति भएको मात्रै बताएका थिए । यो कार्यदलले साउन अन्तिमभित्र सिट बाँडफाँटबारे टुंगो लगाउने तयारी गरेका छन् ।