छाता र लौरोको आयातमा वृद्धि

37

वीरगञ्ज । विदेशबाट नेपालमा आयात हुँदै आएको छाता र लौरोको आयातमा बर्सेनि वृद्धि हुँदै गएको छ।

छाता र लौरो आयातको पछिल्लो तीन आर्थिक वर्षको भन्सार विभागको तथ्यांकलाई हेर्दा बर्सेनि यसको आयातमा वृद्धि हुँदै गएको देखिन्छ। गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा विदेशबाट ५० करोडभन्दा बढीको छाता र लौरो आयात गरिएको भन्सार विभागले जानकारी दिएको छ।

विभागको तथ्यांकअनुसार गत आवमा विदेशबाट नेपालमा ५० करोड ३४ लाख ८४ हजार बराबरको छाता र लौरो आयात गरिएको छ। यो अघिल्लो आव २०७७/७८ को भन्दा बढी रहेको ‍विभागले जनाएको छ।

अघिल्लो आवमा नेपालमा विदेशबाट ४३ करोड ७१ लाख ६ हजार बराबरको मात्रै छाता र लौरो आयात भएको थियो। यस तथ्यांकअनुसार अघिल्लो आवको तुलनामा गत आवमा नेपालमा ६ करोड ६३ लाख ७८ हजार बराबरको बढी छाता र लौरो आयात भएको हो।

आव २०७६/७७ मा भने नेपालमा ३३ करोड ३४ लाख ४ हजार बराबरको छाता र लौरो आयात गरिएको विभागको तथ्यांकमा जनाइएको छ। नेपालमा मुख्य रूपमा छिमेकी मुलुक भारत र चीनबाट छाता र लौरो आयात हुने गरेको छ। यस्तै, सिंगापुर, अमेरिका, जापान र थाइल्याण्डबाट पनि छाता र लौरोको आयात हुँदै आएको विभागले जनाएको छ। बितेको आव २०७८/७९ मा छाता र लौरोकोआयातबाट नेपालले १३ करोड ९६ लाख ८० हजार राजश्व संकलन गरेको छ।