हरिहर र नीताले गरे प्रेम जीवनलाई विवाहमा परिणत

93

काठमाडौँ । ज्योतिष अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले आफ्नो प्रेम जीवनलाई विवाहमा परिणत गरेका छन् । विगत ४ वर्षदेखि प्रेममा रहेका उनीहरूको काठमाडौंको एक होटलमा वैवाहिक कार्यक्रम भइरहेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित छन् । अरुलाई प्रवेश दिइएको छैन ।

दुवैले अघिल्लो साल नै विवाह गर्ने तयारी गरेको भए पनि हरिहरको बुबा अचानक बितेपछि एक वर्ष कुर्नु परेको थियो । बुबाको वार्षिक सकिए लगत्तै असारमा उनीहरूले विवाहको लगन जुराएका थिए । बाल कलाकार हुँदै अभिनेत्री बनेकी नीता ढुंगानाले दुई दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् भने हरिहरले ‘शुभलभ’ बाट अभिनयमा डेब्यु गरेका थिए ।

विवाहित जोडीले २६ गते सोही होटेलमा हुने रिसेप्सनमा भने फिल्म क्षेत्रका धेरै व्यक्तिलाई बोलाउने तयारी गरेका छन् । नीता र हरिहरको प्रेम ४ वर्ष पुरानो हो । वीरगञ्जमा भएको फिल्मसम्बन्धी एक कार्यक्रममा सँगै पुगेका उनीहरु त्यही कार्यक्रमपश्चात् नजिक भएका थिए । उनीहरूको राम्रो चिनजान महोत्सवमा नृत्य गर्न रिहल्सल गर्नु पर्ने भएपछि भएको हो । सँगै वीरगञ्ज पुगेर फर्किएपछि उनीहरु बीचमा सामिप्यता झनै बढेको थियो ।