नदीमा खसेर बेपत्ता भएका सचिन अझै फेला परेनन्

47

काठमाडौं । दार्चुलाको महाकाली नदीमा खसेर बेपत्ता भएका युवक अझै फेला पर्न सकेका छैनन्। व्यास गाउँपालिका-२ दुम्लिङस्थित गोठाल घाटमा बुधबार दिउँसो साढे ३ बजे तुइन तर्ने क्रममा एक युवक खसेका थिए। नदीमा खसेर सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बिहीबार बिहान साढे ११ बजेसम्म पनि फेला नपरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

‘प्रहरी, सशस्त्र प्रहरीहरू बिहानैदेखि परिचालन भएका छन्। अहिलेसम्म केही पत्ता लागेको छैन। सबै ठाउँमा खोज्न लगाइराखेका छौं,’ उनले भने, ‘थप जानकारी पाइएको छैन।’ उनी खसेर बेपत्ता भएपछि महाकाली किनारमा रहेका प्रहरी तथा सशस्त्र प्रहरीको पोष्टबाट सुरक्षाकर्मीहरू खोजी गर्नको लागि खटिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। उनी भारतबाट घर फर्किन तुइनबाट नदी तर्दै थिए। त्यसैबीच तुइन टुट्दा उनी नदीमा खसेर बेपत्ता भएका हुन्।

बुढाथोकी किनमेल गर्न भारतमा गएका थिए। उनीसँगै अरू साथीहरू पनि थिए। ‘सामान किन्न भनेर भारतमा गएका थिए। उनीसँग अरू साथीहरू पनि गएका थिए,’ उनले भने,‘उनी चढ्ने बेलामा तुइन टुट्यो। घरायसी सामान पनि भारी थियो कि त्यतिबेला के भयो बुझिरहेका छौं।’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीका अनुसार बुढाथोकी खसेपछि उनकै साथीहरूले प्रहरीलाई खबर गरेका थिए।

‘घरायसी सामान लिन गएको भन्ने कुरा छ। दुई जना साथीहरू पनि गएका थिए,’ उनले भने,‘उनीहरू चाहिँ फर्किसकेका छन्। साथी खसेपछि उनीहरूले फोन गरेका थिए। अहिले इलाका प्रहरी कार्यालय हुतीबाट भेरिफाइ गर्ने काम भइरहेको छ।’ गत वर्षको साउन १५ मा सोही ठाउँमा तुइन तरेर भारत जाने क्रममा खसेर जयसिंह धामी पनि बेपत्ता भएका थिए।

स्थानीयले भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा नदीमा बेपत्ता भएको बताए पनि नेपाल र भारतको सरकारले यो कुरा स्वीकार गरेको छैन। धामी खसेको ठाउँनिर पुल पनि बनिसकेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। तर अहिले बुढाथोकी खसेको ठाउँबाट त्यो पुल पुग्न तीन घण्टा टाढा रहेको उनले जानकारी दिए। जसकारण पनि स्थानीयहरू तुइन चढ्न बाध्य छन्।