काठमाडौँ । बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण आएको बाढीमा परी १ सय २ जनाको मृत्यु भएको छ । बंगलादेशी अधिकारीहरुले दिएको जानकारी अनुसार मुलुकका ६४ जिल्ला बाढीका कारण प्रभावित भएका छन् । ती जिल्लामा १०२ जनाको मृत्यु भएको छ ।
अधिकारीहरुका अनुसार मे १७ देखि जुन २८ सम्म बंगलादेशमा देशव्यापी रुपमा वर्षा भएको थियो । कतिपय जिल्लाहरुमा पछिल्ला दिनहरुमा पनि बाढीको प्रकोप जारी नै रहेको बताइएको छ । बाढीसँगै बगेर आएका सर्पले डसेर, चट्यांग लागेर र बाढीले बगाएर कैयौँको ज्यान गएको बताइएको छ ।
बंगलादेशका स्वस्थ्य अधिकारीहरुले अहिले पनि कतिपय स्थानमा बाढीको प्रकोप जारी रहेको र ठूलो संख्याका मानिसहरु विस्थापित भएका बताएका छन् । बाढी प्रभावितहरुको उद्धार र सहयोगका लागि ठूलो संख्यामा सहायताकर्मी र प्रहरी परिचालन गरिएको बताइएको छ ।
अघिल्लो हप्ताको बाढीले दर्जनौँ स्थानका बाटो बगाइदिएको छ । यसका कारण मानिसहरुलाई कैयौँ जिल्लामा आवत जावत गर्न पनि कठिन भएको पाइएको छ ।
त्यस्तै बिजुली र खानेपानीका संरचनाहरु पनि बाढीले भत्काइदिएको छ । ती संरचना निर्माणको काम भइरहेको अधिकारीहरुले बताएका छन् । त्यहाँका प्रकोप व्यवस्थापन सम्बन्धी मन्त्री इनामुर रहमानले सरकारले बाढी पीडितहरुको उद्धार गर्न र भत्किएका संरचनाहरु बनाउनका लागि ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरेको बताएका छन् । उनले यस्तो आपतका समयमा सहयोग गर्न सबै नागरिकलाई आग्रह पनि गरेका छन् । बंगलादशेका उत्तरी र उत्तरपूर्वी क्षेत्रका कैयौँ जिल्लामा बाढी आएको हो ।