Wednesday, October 7, 2026
Home समाज सहिद परिवारलाई मासिक २१ हजार भत्ता, सन्तानलाई छात्रवृति

सहिद परिवारलाई मासिक २१ हजार भत्ता, सन्तानलाई छात्रवृति

195

जनकपुरधाम । मधेश प्रदेशमा मधेश आन्दोलन र जनयुद्धमा सहिद घोषणा भएका परिवारले मासिक भरणपोषण भत्ता पाउने भएका छन्। आन्दोलनको क्रममा मृत्यु भई नेपाल सरकारले सहिद घोषणा गरेका परिवारलाई मधेसी सहिद प्रतिष्ठानले भरणपोषण बापत मासिक २१ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको हो।

भरणपोषण तथा छात्रवृत्ति सम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम मधेश आन्दोलन तथा जनयुद्धमा शहीद भएका परिवारको आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखी मासिक अधिकतम २१ हजार रुपैयाँका दरले भत्ता दिने प्रतिष्ठानले निर्णय गरेको हो।

प्रतिष्ठानका कार्यकारी निर्देशक छठु चौधरीका अनुसार सहिदका सन्तानलाई वार्षिक छात्रवृत्ति दिइनेछ। यस्तै कक्षा १ देखि ६ सम्म १६ हजार रूपैयाँ र कक्षा ७ देखि १२ सम्म १८ हजार रुपैयाँ एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिने प्रतिष्ठानले जारी गरेको सूचनामा उल्लेख छ। भरणपोषण तथा छात्रवृत्तिको लागि प्रतिष्ठानले गत जेठ १० गते सूचना प्रकाशित गरेर आवेदन दिन सहिद परिवारहरुलाई आह्वान गरेको थियो।