भारी वर्षाको सम्भावना

84

काठमाडौं । हाल देशभर मौसममा सामान्य बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर (नेपालको दक्षिणी भू-भाग नजिक) रहेको छ ।

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।