Saturday, October 3, 2026
Home समाचार बिना शल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालियो

बिना शल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालियो

112

काठमाडौँ – थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिना शल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन्। नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा। सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा अड्किएको चम्चा निकालेको हो।

काठमाडौँकी एक १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चालाई बिना शल्यक्रिया र बिना कुनै चोट निकाल्ने सफलता प्राप्त भएको हो। डा. कुँवरले नेपालमा सम्भवत बिना शल्यक्रिया चम्चा नै आमाशयबाट सुरक्षित ढंगले निकालेको यो नै पहिलो घटना भएको दाबी गरे। डा. कुँवर नेतृत्वको टिमले यसअघि बच्चाहरुले झुक्किएर निलेको सिक्का, झुक्किएर निलेको पिन र ठूला व्यक्तिले झुक्किएर निल्दा अड्किएको हड्डीसमेत बिना शल्यक्रिया निकालेको थियो।

‘साइक्ट्रेकी इलनेश टाइपको बिरामीले पानी खाने क्रममा झुक्किएर चम्चा निलेको बताउनुभयो। तर, यस्तो बिरामीहरुलाई वाकवाक गरिरहन पर्ने र वाकवाकी गराउनका लागि चम्चा घाँटीतिर हाल्दा झुक्किएर निलेको देखिन्छ,’ डा. कुँवरले भने,‘आमाशयमा गएर अड्किएको रहेछ। आन्द्रातिर जान नपाएको अवस्थामा हामीले सुरक्षित ढंगले चम्चा निकालेका हौँ।’

आमाशयमा अड्किएको चम्चा ४५ मिनेटको प्रयासमा बिना शल्यक्रिया निकालिएको थियो। ‘चम्चा निकाल्ने क्रममा कतै पनि कुनै चोट वा घाउ समेत लागेन,’ डा. कुँवरले भने, ‘हाम्रा लागि नयाँ सफलता र नयाँ अनुभव दिने घटना पनि हो यो।’ आइतबार चम्चा निलेर आएकी बिरामीलाई रातभर अब्जर्भेसनमा राखेर सबै अवस्था नर्मल देखिएपछि सोमबार बिहान डिस्चार्ज गरिसकिएको छ।