डलर साट्ने भन्दै कागजको थैली दिएर ठगी

105

काठमाडौं । प्रहरी वृत्त कालीमाटीको टोलीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भई काठमाडौंको नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो। डलर साट्ने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। उनलाई प्रहरीले गत शुक्रबार राति कलंकीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार श्रेष्ठले कलंकीको सीता पेट्रोल पम्पमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-४ घर भई ललितपुर महानगरपालिका-१८ नख्खु बस्ने ६२ वर्षीय व्यक्तिलाई ठगी गरेका थिए। पीडित व्यक्ति काठको काम गर्छन्। उनको नख्खुमा काठको पसल समेत छ। कुमार श्रेष्ठ एक दिन पीडितको पसलमा पुगेका थिए। पसल पुगेर कुमारले पीडितलाई पहिल्यै चिन्छु भनेका थिए। तर पीडितले भने उनलाई चिनेका थिएनन्। केही दिन त्यसरी नै पसलमा पुगेपछि श्रेष्ठले पीडित व्यक्तिको विश्वास जिते। उनलाई श्रेष्ठले एक दिन आफ्नी आमा गम्भीर बिरामी भएको र अस्पतालमा भर्ना भएको बताएका थिए। आमाको उपचारको लागि पैसाको अभाव रहेको र आफूसँग अमेरिकी डलरहरूमात्रै भएको बताएका थिए।

सो डलर साटिदिन भन्दै उनले आग्रह गरेका थिए। पैसा साट्न आउँदा पीडितले आठ लाख रुपैयाँ दिन्छु भनेका थिए। त्यसबापत आफूले १० हजार डलर दिने बताएको प्रहरीले जनाएको छ। सो दिन ती पीडित व्यक्तिले आठ लाख रुपैयाँ बुझाए। श्रेष्ठले एउटा कपडा तथा प्लाष्टिकको थैली थमाइदिएका थिए। थैली हेर्दा डलरको साइजमा काटिएका कागजका टुक्राहरू राखिएका थिए। त्यसरी ठगेर फरार भएपछि पीडित प्रहरी वृत्त कालीमाटीमा पुगेका थिए। त्यसपछि प्रहरीले आरोपित पीडकलाई खोजेर पक्राउ गरेको हो।