Friday, October 23, 2026
Home राजनीति दुर्गा बन्जाडेले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी

दुर्गा बन्जाडेले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी

105

काठमाडौं : भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगर धरान उपमहानगरमा बालेन साह र हर्क राई जस्ता स्वतन्त्र उम्मेदवार विजयी भएपछि नेपाली राजनीतिमा स्वतन्त्र उम्मेदवार उठे जितिन्छ भन्ने चासो बढेको छ।पछिल्लो समय आगामी संघीय र प्रदेशसभाको चुनावको मिति घोषणा नहुँदै विभिन्न व्‍यक्तिहरूले चुनावमा लड्ने घोषणा गर्न थालिसकेका छन्। यसैक्रममा सञ्चारकर्मी रवि लामिछानेदेखि महानायक राजेश हमालसम्म स्वतन्त्र उम्मेदवारीको चर्चा चलिरहेको छ।

त्यस्तै, ३ वर्षदेखि काठमाडौंमा बसेर कलाकारिता क्षेत्रमा पहिचान बनाएका अर्घाखाँचीका दुर्गा बन्जाडेले पनि प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। उनले भद्रगोल, गोलमाल, ख्याल ठट्टालगायत टेलिसिरियलहरूमा अभिनय गर्दै आएका छन्। बन्जाडेले विभिन्न टेलिसिरियलमा गरेको अभिनयलाई दर्शकले पनि रुचाएका छन्।कलाकार बन्जाडेले एउटा मात्र क्षेत्र रहेको अर्घाखाँचीबाट आफू चुनाव लड्न लागेको बताएका छन्। चुनावी मैदानमा नेताहरू जनतालाई चिल्ला भाषण दिने र दिएका बाचा अधुरै राख्ने भएकाले त्यसलाई पूरा गर्न आफूले स्वतन्त्र उम्मेदवारी दिने लागेको बन्जाडेले बताए।अर्घाखाँचीको यो क्षेत्रबाट २०७४ मा तत्कालीन माओवादी केन्द्रबाट टोपबहादुर रायमाझीले जितेका हुन्। माओवादी र नेकपा एमाले मिलेर नेकपा बनेको र त्यो पार्टी विभाजनसँगै उनी एमालेतर्फ लागेपछि रायमाझीलाई माओवादीले कारबाही गर्दा यो क्षेत्रमा उपनिर्वाचन पनि भएन र हाल रिक्त नै रहेको छ।

०७४ मा रायमाझीले माओवादी केन्द्रबाट निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. रामबहादुर बिसीलाई १८ हजार ४ सय ४४ मत अन्तरले पछि पार्दै विजयी बनेका थिए। रायमाझीले ५० हजार ३ सय ८५ मत प्राप्त गरेका थिए भने विसीले ३१ हजार ९ सय ४१ मत ल्याएका थिए।हाल रायमाझी नेकपा एमालेका नेता हुन्। उनले यस क्षेत्रमा आफूलाई पराजित गराउने तागत कसैको नभएको दाबी गर्दै आएका छन्। सम्भवत: नेकपा एमालेले उनलाई यसै क्षेत्रबाट टिकट दिनेछ।यता, कलाकार बन्जाडेले पनि आफ्नो गाउँ ठाउँ, जिल्लाको विकास र मुहार फेर्नका लागि आफूले उम्मेदवारी घोषणाको तयारी गरेको बताएका छन्। यस क्षेत्रबाट आफूले जनताको मन जितेर काम गर्ने बताउँदै आफूलाई कुनै शक्तिले रोक्न नसक्नेसमेत उनले दाबी गरे।