हेलम्बु–मेलम्चीमा छैन चैन

112

सिन्धुपाल्चोक । जब लगातार वर्षा सुरु हुन्छ र मनसुन सक्रिय हुन थालेको खबर आउँछ, तब हेलम्बु, मेलम्ची र पाँचपोखरी थाङपाल गाउँपालिकाका बासिन्दा आलसतालस हुन्छन् । गत वर्ष असारको प्राकृतिक विपत्तिमा घरजग्गा गुमाएका कैयन् स्थानीय बासिन्दा सरकारबाट राहत पाइने आशामा महिनौं गुजारेपछि निराश भएर काभ्रे र काठमाडौंतिर सरिसकेका छन् । बाँकी रहेकाहरूलाई यसपटक पनि त्यस्तै नियति दोहोरिने हो कि भन्ने चिन्ताले छोपेको छ ।

०७८ असार १ मा हेलम्बुको शिरभेग भेमाथाङबाट उर्लिएर आएको कालो लेदोसहितको बाढीमा परी ५ जनाले ज्यान गुमाएका थिए । २० जना अझै भेटिएका छैनन् । बाढीले हेलम्बुमा ३ सय ८ र मेलम्चीमा २४ घर बगायो । १७ मत्स्य फार्म, ६ होटल र रिसोर्ट, १ विद्यालय, २ सरकारी कार्यालय, ६ झोलुंगे पुल, ६ मोटरेबल पुल, एक कल्भर्ट र एक बेलिब्रिज बगाएपछि ६ महिना हेलम्बुवासी आफ्नै गाउँभेगमा थुनिए । हेलम्बुको तटभेगका ६ गाउँको नामोनिसान मेटियो । मेलम्ची तटीय क्षेत्रका बासिन्दालाई पुनर्निर्माणको सुस्त गतिले समेत चिन्तित बनाएको छ ।

गत वर्ष बाढीलगत्तै तत्कालीन प्रधानमन्त्रीदेखि सांसद र नेताहरूले घटनास्थल पुगेर राहत प्याकेज र पुनर्वासको योजना सुनाए । तर बाढीले ध्वस्त हेलम्बु र मेलम्ची क्षेत्रमा एक वर्षसम्म पनि तटबन्ध निर्माणको काम अघि बढ्न सकेन । केही समयअघि मेलम्ची खानेपानी आयोजनाले हेलम्बु र मेलम्ची क्षेत्रमा तटबन्ध निर्माण गर्न जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयलाई ३० करोड रुपैयाँ दिएको थियो । हिउँदभर तटबन्ध बनाउन जल उत्पन्न प्रकोप काम गर्न इच्छुक देखिएन । यसअघिझैं बर्खा लागेपछि हतारमा टेन्डर आह्वान गरिएयो । मेलम्ची र हेलम्बुमा छुट्टाछुट्टै तटबन्ध बनाउने गरी टेन्डर भए पनि कोही आएनन् । अहिले फेरि सूचना निकालिएको छ । भौगर्भिक अध्ययन मूल प्रतिवेदन र केही भौतिक तयारी हुने आसमा कुरिरहेका जनप्रतिनिधि र स्थानीय अगुवा जल उत्पन्न प्रकोपको ढिलाइप्रति आक्रोशित छन् ।
-अनिश तिवारी/कान्तिपुर दैनिक