उपप्रमुख बुढाथोकीको कामः सुविधाको गाडी अस्पताललाई, तलब भत्ता विद्यार्थीलाई

1122

भक्तपुर । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफुले पाउने सेवा सुविधा समाजको हितकोलागि प्रयोग गर्ने भएका छन् । उनी नेकपा एमालको तर्फबाट निर्वाचित भएका हुन् । बुढाथोकीले आफ्नो पूर्वघोषणा अनुसार आफुले नगरपालिकाबाट पाउने सुविधको बा २ झ १६२३ नं. को सुविधाको गाडी चाँगुनारायण नगर अस्पताललाई हस्तान्तरण गरेका छन् । निर्वाचित हुनु अघि नगरपालिकाबाट आउने सेवा सुविधा लगायत तलब भत्ता नलिने घोषणा गरेका थिए ।

उपप्रमुखले आज एक कार्यक्रम बिच उक्त गाडी चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गरेका हुन् । उक्त गाडी नगर क्षेत्रभित्र रहेका जेष्ठ नागरिक, शारीरिक अशक्त, दिर्घरोगी, बिरामीहरूको सेवामा उपयोग गरिने अस्पतालले जानकारी दिएको छ । सो गाडीले घरदैलोमै गई बिरामीलाई चिकित्सकिय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताललाई हस्तान्तरण गरिएको हो, उपप्रमुख बुढाथोकीले भने ।

उनले पाउने तलब भत्ता पनि छुट्टै कोष खडा गरि नगर क्षेत्रका गरिव जेहेन्दार विद्यार्थीको पठनपाठन, एकल महिला, अपाङ्ग अशक्त ब्यक्तिहरुको वृद्धि विकासको क्षेत्रमा खर्च गरिने बताए ।
उद्यमशिलता एवंम स्वरोजगारको क्षेत्रमा खर्च गरिने कुरा उनको भनाई ।