सिसडोलमा फोहोर फाल्न तत्काल बन्द नगरिए विस्फोट हुन सक्ने

108

बीबीसी । नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइटको स्थलगत अध्ययन गर्न पुगेका विज्ञहरूको टोलीले उक्त साइट बन्द गर्न थप ढिलाइ गर्न नहुने बताएका छन्। मङ्गलवार नमुना सङ्कलन गरी काठमाण्डू फर्केको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको टोलीमा संलग्न वैज्ञानिकहरूले त्यहाँ फोहोर फाल्ने ठाउँ अब बाँकी नरहेको बीबीसीलाई बताएका हुन्।

लीचेट भनेको फोहोरमैला रसाएर निस्कने तरल पदार्थ हो। सङ्कलन गरिएका नमुनाहरूको अध्ययन सुरु पनि भइसकेको टोलीमा संलग्न अर्का विज्ञ डा. रवीन्द्र ढकालले बताए।

“विशेषगरी हिजोको हाम्रो भ्रमण लीचेटको अवस्था, त्यसले खोलाको पानीमा कुन स्तरमा विषाक्तता निम्त्याइरहेको छ भन्ने कुरामा केन्द्रित थियो,” बीबीसीसँग उनले भने।
सिसडोल ल्यान्डफिल साइटमा उपत्यकाको फोहोरमैला विसर्जन गर्न थालिएको १७ वर्ष भइसकेको छ।
वि.सं. २०६२ सालको जेठ महिनाबाट उक्त ल्यान्डफिल साइटमा दुई वर्षका लागि भन्दै फोहोरमैला विसर्जन गर्न थालिएको हो।

तत्काल बन्द गर्नुपर्ने कारण के हो ?

सिसडोल ल्यान्डफिल साइटछेउछाउ भएका बासिन्दाले बस्नै नसक्ने अवस्था आएको गुनासो गर्दै आएका छन्। ल्यान्डफिल साइटबाट टाढासम्म दुर्गन्ध फैलिएको मात्रै नभई पानीका स्रोत प्रदूषित हुनेदेखि मानव स्वास्थ्यसम्ममा गम्भीर असर परेको उनीहरू बताउँछन्। उक्त ल्यान्डफिल साइटलाई तत्काल बन्द नगरिए ठूलो समस्या निम्तिन सक्ने विज्ञहरूले औँल्याएका छन्। विज्ञहरूका अनुसार कुहिने फोहोरमैलाबाट प्रचुर मात्रामा मिथेन ग्यास निस्कने गर्छ।