काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री फेर्न नमानेपछि तत्कालका लागि नेकपा एकीकृत समाजवादीका चार मन्त्रीको बहिर्गमन तत्कालका लागि रोकिएको छ। पार्टीमा औपचारिक निर्णय गरेर गएपनि समाजवादीको निर्णयलाई प्रधानमन्त्रीले तत्काल कार्यान्वयन गर्न नसक्ने बताएको समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए। ‘बिहानको छलफलमा प्रधानमन्त्रीजीले मलाई पनि पार्टीभित्र प्रेसर हुन्छ अहिले मन्त्री नफेरौँ भन्नुभएछ, खतिवडाले थाहाखबरसँग भने, ‘हाम्रो अध्यक्ष (माधव नेपाल)ले पार्टीको आधिकारिक निर्णय भएपछि तपाईँले कार्यान्वयन गर्नुपर्छ भनेर आउनुभएको छ।’ यहि बीचमा पार्टीको निर्णय कार्यान्वयन हुन समस्या भएको भन्दै प्रवक्ता खतिवडाले थपे, ‘हाम्रो पार्टीको निर्णय रोक्ने अधिकार प्रधानमन्त्रीलाई छैन।’ उनका अनुसार अहिले पार्टीका शीर्ष नेताहरु छलफलमा छन्।