सुर्खेत : कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये २३ वटा स्थानीय तहको नेतृत्व महिलाविहीन भएको छ। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट २३ स्थानीय तहको प्रमुख र उपप्रमुख दुवैमा पुरुष निर्वाचित भएका हुन्।जसअन्तरगत सल्यानका १० स्थानीय तहमध्य चार स्थानीय तहको प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष निर्वाचित भएका छन्। त्यस्तै, हुम्ला ७ वटा स्थानीय तहमध्ये ४ स्थानीय तहमा प्रमुख, उपप्रमुख दुवैमा महिला नेतृत्व चयन हुन सकेनन् भने डोल्पा ८ स्थानीय तह र कालिकोट ९ स्थानीय तहमध्ये ४-४ स्थानीय तहमा प्रमुख र उपप्रमुख दुबैमा पुरुष निर्वाचित भएका छन्।
त्यसैगरी, जाजरकोट ७ स्थानीय तहमध्य दुईवटा स्थानीय तहको नेतृत्व महिलाविहीन भएको छ भने मुगु चार स्थानीय तहमध्ये दुईवटा स्थानीय तहमा पनि महिला नेतृत्व छैन।यता, रुकुम पश्चिमका ६ वटा स्थानीय तहमध्ये दुईवटा नै महिला प्रमुख, उपप्रमुख दुवैमा पुरुष निर्वाचित भए।सुर्खेतको चौकुने गाउँपालिका र दैलेखको नौमुले गाउँपालिकामा पनि दुबै पदमा पुरुष नै निर्वाचित भए भने जुम्लाका ८ वटै पालिकाको उपप्रमुख पदमा महिलाहरु निर्वाचित भएका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा भने जुम्ला चन्दननाथको दुवै पदमा महिलाले नेतृत्व गरिरहेका थिए।