कविताः साक्षात्कार

113

– विदुरप्रसाद तिमिल्सिना

प्रत्येक दिवसलाई सन्ध्याले
आफ्नै लयमा निलेझैँ
निलिँदै छन् हाम्रा आगत,
केवल सरोकार राख्दा धनमा
निर्दयी बन्न पुगेका छन् मन
अभावले आक्रान्त बन्दा जीवन ।

धन र मन बीच चल्दा लडाइँ
ज्ञान र विज्ञानमा समेत
बेमेल गराउँदै गर्छन् व्यापार
समाजवादका ठूला ठेलीमा
आत्मोत्सर्ग गर्न तयार
सहअस्तित्वको भाव पन्छाउँदै
फाइदा आफ्ना पोल्टामा पार्न
लालचको बल्छी थापेर अझै
फाइदासङ्गै गर्छन् साक्षात्कार ।।

चढ्दै छन् पीडाको आरोहण
दिनरात पाखुरा घोट्नेहरू
सबै इन्द्रीय चलायमान पार्दा
अझै उठ्दैन उसको शिर
लाग्छ कता कता उसलाई
पुग्न सकिँदैन त्यो आगत
लुटेर माथि उठनेहरूबाट ।।
 -भक्तपुर