चैत ५,
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दाबी गरेका छन्। मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाईदिएको पनि बताए। शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरबासीको सबै चाहना पूरा गर्न नसके पनि उनीहरुले सुम्पेको धेरैजसो जिम्मेवारी आफूले पूरा गरेको बताए।
त्यसका लागि सबै वडामा प्रशस्त बजेटको व्यवस्था गरेको उनको भनाई थियो। मेयर शाक्यले सबै वडा कार्यालयहरुलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको जिकिर पनि गरे। सबै वडाहरुलाई प्रशस्त बजेट दिने, काम गर्ने वातावरण बनाउने र त्यसका लागि आवश्यक टिम परिचालन गर्ने काममा आफूले कमी हुन नदिएको उल्लेख गर्दै मेयर शाक्यले सबै काम सम्पन्न नै भइसक्यो भनेर भने आफूले नभन्ने बताए।उनले विकास, निर्माणको काम निरन्तरको काम भएको भन्दै त्यसमा आफूले सकेको योगदान दिएको बताए। उनले मुद्दा मामिलाका कारण पनि महानगरपालिका अन्तर्गतका सबै वडा कार्यालय बनाउन नसकिएको स्पष्टीकरण दिए।