प्रेस चौतारीको नवौँ महाधिवेशन : अध्यक्ष ओलीले उद्घाटन गर्ने

88

फागुन २७,

नेकपा एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ केन्द्रीय महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदै छ। देशभरका झन्डै १२ सय पत्रकारहरूको उपस्थितिमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको छ भने उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन्। ‘समृद्धिका लागि सञ्चार कर्म : प्रेस चौतारीको मूल मर्म’ भन्ने नाराका साथ हुन लागेको महाधिवेशनको तयारी पुरा भएको मूल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले बताए। नयाँ नेतृत्व निर्माण समेत चयन हुने महाधिवेशन शुक्रवार र शनिबार पोखरा सभागृहमा हुनेछमहाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरू बिहीबारदेखि नै पत्रकारहरू पोखरा भित्रिइरहेका छन्। महाधिवेशनमा भौगोलिक सात प्रदेश र एशोसिएट, प्रतिष्ठान र बागमती गरी सङ्गठनका १० वटै क्षेत्रबाट छानिएका १२ सय प्रतिनिधिले महाधिवेशनमा भाग लिन लागेका हुन्।

महाधिवेशनमा भाग लिन केन्द्रीय समितिका सबै सदस्यहरू पोखरा आइपुगेका छन्। अहिलेको केन्द्रीय समितिको अन्तिम बैठक समेत पनि शुक्रवार नै पोखरामा बस्दैछ।प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीका अनुसार यो महाधिवेशनलाई पोखराका गौरवको रूपमा लिइएको छ। महाधिवेशनलाई गौरवमय र सफल बनाउन आवास, खाद्य व्यवस्थापन, स्वयंसेवक, मञ्च व्यवस्थापन, अतिथि सत्कार लगायतका उपसमितिहरूले आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको अध्यक्ष गिरीले बताए।

चौतारीको यो महाधिवेशन नीति र नेतृत्व निर्माणका हिसाबले महत्त्वपूर्ण हुने छ। नीति र नेतृत्व निर्माणको साथमा महाधिवेशनमा सञ्चार क्षेत्रका वर्तमान मुद्दाका बारेमा समेत महत्त्वपूर्ण छलफल गर्ने प्रेस चौतारीको तयारी छ।महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न क्षेत्रमा योगदान पुराएका ११ जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ। जसअनुसार हृदय चन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार–२०७७ बाट प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल तथा २०७८ बाट अर्का पूर्व अध्यक्ष गगन विष्टलाई प्रदान गरिने भएको छ।

यस्तै अग्निशिखा पत्रकारिता पुरस्कार–२०७७ कृष्ण विनोद लम्साल तथा २०७८ बाट झलक सुवेदी पुरस्कृत हुँदै छन्। डेकेन्द्र थापा पत्रकारिता पुरस्कार–२०७७ सागर पण्डित र २०७८ हिरा परियारलाई प्रदान गरिनेछ। वीरेन्द्र शाह क्रियाशील पत्रकारिता पुरस्कार–२०७७ बाट केपी गौतम र २०७८ बाट अनुप तिवारी पुरस्कृत हुँदै छन्। चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ तथा पदम लक्ष्मी सावित्री स्मृति पत्रकारिता पुरस्कार–२०७७ अब्दुल्ला मिया र २०७८ शिवराज भट्टलाई प्रदान गर्न लागिएको प्रेस चौतारीले बताएको छ।