गैरकानुनी काम गर्ने म्यानपावरमाथि सरकारले थाल्याे कारबाही

35

माघ २३,

काठमाडौं : सरकारले भिजिट भिसाको नाममा चर्काे शुल्क असुली कामदार पठाउने म्यानपावर कम्पनीमाथि कारबाही थालेको छ। म्यानपावरमार्फत विभिन्न प्रलोभनमा परी विदेश गएका नेपाली अलपत्र पर्न थालेसँगै सरकारले गैरकानुनी काम गर्ने व्यवसायीलाई कारबाही थालेकाे हाे।

लामो समयदेखि म्यानपावर व्यवसायीले भिजिट भिसामा चर्को शुल्क असुली कामदारलाई विदेश पठाइ रहेका छन्। रोजगारीको प्रलोभन देखाई विदेश गएका युवाहरू अलपत्र पर्न थालेसँगै श्रम मन्त्रालयले विषेश चासो देखाएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए। श्रम मन्त्रालयले गत आइतबार वैदेशिक रोजगारीमा जाने कमदार समस्यामा परे गुनासो सुन्नका लागि भन्दै कल सेन्टर सुरु गरेकाे छ। पहिलो दिनमै म्यानपावर व्यवसायीले ठगी गरेको गुनासो कल सेन्टरमा आयो। सो सूचनाको आधारमा मन्त्रालयको मार्सल टोलीले अनुसन्धान गरी कारबाही गरेकाे मार्सल टोलीका संयोजक विष्णु लामिछानेले बताए।

काठमाडौंको सिनामंगलस्थित मिनवा म्यानपावरले कतार पठाउनका लागि १ लाख २० हजार लिएकाे एक युवकले गुनासाे गरे। सोमबार नै मार्सल टोली सो कम्पनीमा पुगेर वैदेशिक रोजगारीमा कतार जाने तयारीमा रहेका अली मुस्तफासँग १ लाख २० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा म्यानपावर सञ्चालक हेमराज राई, कर्मचारी साहरा थापा तथा एजेन्ट महोम्मद इसाक मियाँलाई रकमसहित नियन्त्रणमा लिइएको संयोजक लामिछानेले बताए। त्यस्तै गरी त्रिनेत्र म्यानपावर, ई-बैंकिङ म्यानपावर,ट्रिपलस्टार इम्पोइमेन्ट लगायतका म्यानपावरलाई कारबाहीको दायरामा ल्याइएको संयोजक लामिछानेले बताए। अनुसन्धान गरेका अधिकांश म्यानपावरले गैरकानुनी काम गरेको पाइएको छ।