फोनपे र खल्तीले आपसमा सहकार्य गर्ने

128

माघ १७,
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोनपे र खल्तीबीच सहकार्य सुरू भएको छ । फोनपे नेपालको अग्रणी भुक्तानी सञ्चालक हो भने खल्ती पछिल्लो समय डिजिटल कारोबारलाई तीव्रता दिइरहेको कम्पनी हो ।

आज सोमबार फोनपेका नायव प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरे । यो सम्झौतासँगै खल्ती फोनपेको नेटवर्कमा आबद्ध भएको छ ।
अबदेखि खल्तीका प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् । आफूहरूबीचको सहकार्यलाई दुवै कम्पनीले डिजिटल कारोबारमा ठूलो उपलब्धीका रूपमा लिएको बताएका छन् । कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी सापकोटाले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित खल्तीसँग सहकार्य गरेको बताए । यस्तै, खल्तीका प्रमुख कार्यकारी अधिकृत खड्काले फोनपेसँगको सहकार्यबाट दुवै कम्पनीका प्रयोगकर्ता लाभान्वित हुने बताए । उनले यो सहकार्यले नेपाली अर्थतन्त्रको इकोसिस्टमलाई नै अझ विश्वसनीय र सशक्त बनाइ अघि बढाउन सहयोग पुग्ने बताए ।