काँग्रेसको १४ औँ महाधिवेशन: ४३१९ जना महाधिवेशन प्रतिनिधी, कुन प्रदेशमा कति ?

53

मंसिर २३,
काठमाडौं । भोली शुक्रबारदेखि नेपाली काँग्रेसको १४ औँ महाधिवेशन सुरु हुदैं छ । देशभरबाट महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भइसकेको छ । अहिलेसम्मको अवस्था हेर्दा देशभरबाट ४३१९ जना महाधिवेशन प्रतिनिधी बन्द सत्रमा सहभागी हुनेछन् ।

कुन प्रदेशबाट कति महाधिवेशन प्रतिनिधि हेर्नुहोस्

प्रदेश एक: ७३३

-प्रदेश १ भनेको नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, विजय कुमार गच्छदार, डा. शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका हस्तीहरूको गृह प्रदेश हो । यहाँबाट आउने प्रतिनिधिको सङ्ख्या ७३३ छ ।  प्रारम्भिक सूचीअनुसार ताप्लेजुङ र पाँचथरबाट २७–२७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । यस्तै इलामबाट ५३, झापाबाट १३२, सङ्खुवासभाबाट २६, तेह्रथुमबाट २७, भोजपुरबाट २६ र धनकुटाबाट २६ जना प्रतिनिधि सहभागी हुनेछन् ।

यस्तै मोरङका ६ निर्वाचन क्षेत्रबाट १५२ जना प्रतिनिधि चयन भएका छन् भने सुनसरीका ४ निर्वाचन क्षेत्रबाट १०५ प्रतिनिधि चयन भएका छन् । सोलुखुम्बुबाट २८, खोटाङबाट २५, ओखलढुङ्गाबाट २७, उदयपुरबाट ५२ जना प्रतिनिधि चयन भएका छन् ।

प्रदेश दुई : ७०५

प्रदेश २ बाट नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा ७०५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने निश्चित भएको छ । प्रदेश २ काँग्रेस सभापतिका उम्मेदवार विमलेन्द्र निधिको गृह जिल्ला समेत हो । निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिको प्रारम्भिक सूचीअनुसार सप्तरीका ४ वटा निर्वाचन क्षेत्रबाट १०४ प्रतिनिधि सहभागी हुनेछन् भने सिराहाको ४ निर्वाचन क्षेत्रबाट १०५ प्रतिनिधि सहभागी हुनेछन् । धनुषाबाट १०४ जना मतदाताको सहभागिता रहने छ भने महोत्तरीबाट पनि १०४ जनाकै सहभागिता रहनेछ । यस्तै रौतहटबाट ८१, बाराबाट १०४ र पर्साबाट १०३ जना प्रतिनिधि चयन भएका छन् ।

महोत्तरी क्षेत्र नम्बर ३ तथा सर्लाहीको ४ वटा निर्वाचन क्षेत्रको प्रतिनिधि सूची भने प्राप्त भइनसकेको काँग्रेस निर्वाचन समितिले जनाएको छ । प्रदेश २ मा सुरुदेखि नै विभिन्न जिल्लामा अधिवेशन गर्नेसम्बन्धमा विवाद रहेको थियो भने विवादकै कारण प्रदेश अधिवेशन समेत स्थगित गरिएको छ ।

बागमती प्रदेश : ८७९, काठमाडौँमा २६७

काँग्रेसको महाधिवेशनमा बागमतीबाट सबैभन्दा बढी अर्थात् ८७९ प्रतिनिधिले भाग लिने भएका छन् । प्रदेशका १३ जिल्लाबाट ८७९ जना महाधिवेशन प्रतिनिधिले भाग लिन पाउने भएका हुन् । काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिले प्रारम्भिक सूचीअनुसार दोलखाबाट २७ जना प्रतिनिधि चयन भएका छन् । यस्तै रामेछापबाट पनि २७, सिन्धुलीबाट ५२, रसुवाबाट पनि २७ जना प्रतिनिधि चयन भएका छन् । यसै गरी धादिङबाट ५४, नुवाकोटबाट ५३ प्रतिनिधि चयन हुँदा काठमाडौँबाट २६६ प्रतिनिधि चयन भएका छन् । काठमाडौँका १० निर्वाचन क्षेत्रबाट सो सङ्ख्यामा प्रतिनिधि चयन भएका हुन् । यसै गरी भक्तपुरबाट ५४, ललितपुरबाट ८२ जना प्रतिनिधि चयन भएका छन् । ललितपुरका ३ निर्वाचन क्षेत्रबाट यो सङ्ख्यामा प्रतिनिधि चयन भएका हुन् । यसै गरी काभ्रेबाट ५३, सिन्धुपाल्चोक र मकवानपुरबाट बाट ५२–५२ जना प्रतिनिधि चयन हुँदा ७९ जना चितवनबाट चयन भएका छन् ।

गण्डकी प्रदेश: ४८०

गण्डकी रामचन्द्र पौडेलको गृह प्रदेश हो । यहाँबाट ४८० जना प्रतिनिधि सहभागी हुँदैछन् । यो प्रदेशको सभापतिमा पनि पौडेल पक्षले नै बाजी मारेको थियो । तुलनात्मकरुपमा सो प्रदेशबाट आउने महाधिवेशन प्रतिनिधिमा पनि पौडेल पक्षमै हावी देखिन्छ । काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिहरुको प्रारम्भिक नामावलीअनुसार गोरखाबाट ५३, मनाङबाट २७, लमजुङबाट २८, कास्कीबाड ८०, तनहुँबाट ५४, स्याङ्जाबाट ५३, नवलपुर (बर्दघाट सुस्तापूर्व)बाट ५२, मुस्ताङबाट २६, म्याग्दीबाट २७, बागलुङबाट ५२, पर्वतबाट २८ प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।

लुम्बिनी प्रदेश: ६८३

लुम्बिनी प्रदेशबाट काँग्रेसको १४ औँ महाधिवेशनमा ६८३ प्रतिनिधिले भाग लिनेछन् । काँग्रेस निर्वाचन समितिका अनुसार गुल्मी र पाल्पाबाट ५३–५३ जना सहभागी हुने निश्चित भएको छ । यस्तै अर्घाखाँचीबाट २६, नवलपरासीबाट ५२ र रुपन्देहीका ५ निर्वाचन क्षेत्रबाट गरी कुल १३१ जना प्रतिनिधि सहभागी हुनेछन् । यस्तै कपिलवस्तुबाट ७७ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् भने रुकुमपूर्वबाट २६, रोल्पाबाट २७, प्युठानबाट २७ जना प्रतिनिधि सहभागी हुनेछन् ।

यसै गरी दाङबाट ७९, बाँकेबाट पनि ७९ तथा बर्दियाबाट ५३ प्रतिनिधि सहभागी हुने निश्चित भएको छ । लुम्बिनी प्रदेशमा गएको प्रदेश निर्वाचनमा पौडेल समूह विजयी भएको थियो भने संस्थापन र इतर पक्षका प्रतिनिधिहरू सराबरी रहेको बताइन्छ ।

कर्णाली प्रदेश: ३१७

कर्णाली प्रदेशबाट नेपाली काँग्रेसको ३१७ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिको प्रारम्भिक सूचीअनुसार रुकुम पश्चिमबाट २७, सल्यानबाट २७, डोल्पाबाट २४, मुगुबाट २७, कालिकोटबाट २७, हुम्लाबाट २६, जाजरकोटबाट २७, दैलेखबाट ५४, सुर्खेतबाट ५२ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । यसैसाता सम्पन्न काँग्रेस कर्णाली प्रदेशको अधिवेशनमा देउवा पक्ष विजयी भएको थियो ।

सुदूरपश्चिम प्रदेश : ४१९

सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेश हो । यो प्रदेशबाट महाधिवेशनमा ४१९ जना प्रतिनिधि मतदाताका रूपमा काठमाडौँ आउने भएका छन् । निर्वाचन समितिका अनुसार कञ्चनपुरबाट ७९ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् ।  डडेलधुराबाट २६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।  बैतडीबाट २७, दार्चुलाबाट २७ सहभागी हुने निश्चित भएको छ भने कैलालीका ५ निर्वाचन क्षेत्रबाट १३० जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । यस्तै डोटीबाट २६, बझाङबाट २६, अछामबाट ५२, बाजुराबाट २६ प्रतिनिधि सहभागी हुनेछन् । कञ्चनपुर रुनिर्वाचन समितिको सूचीअनुसार देशभरिबाट कुल ४ हजार ३१९ प्रतिनिधिको सूची प्रकाशित गरिएको छ ।

काठमाडौँमा कति मतदाता:

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको प्रारम्भिक सूचीअनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रबाट मात्रै २६७ जना प्रतिनिधि सहभागी हुने तय भएको छ ।जसअनुसार क्षेत्र नम्बर १ बाट २७ जना, २ बाट २७, ३ बाट २६ जना, ४ बाट २७ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । यस्तै क्षेत्र नम्बर ५ र ६ बाट पनि २७–२७ तथा ७ बाट २६ प्रतिनिधि सहभागी हुनेछन् । यस्तै क्षेत्र नम्बर ८, ९ बाट २७–७ तथा १० बाट २६ जना प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।

        यसमा केही प्रतिनिधि थप हुने  छ ।