मन्त्री थापाले माफी मागे

94

माघ १८,
काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्री ५ को सरकार भुलवश भनेको भन्दै माफी मागेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री थापाले नेपाल सरकार भन्नुपर्नेमा भुलवश अन्यथा भएकोले त्यसलाई तत्काल सच्याएको उल्लेख गर्दै माफी मागेका हुन् । कार्यक्रममा बोलेको शब्दप्रति नेपाली नागरिक, शूभचिन्तक, र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले दुविधा नराखिदिनु हुन पनि उनले आग्रह गरेका छन् । ‘मेरो पुरै राजनीतिक जीवन क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु’, स्टाटसमा भनिएको छ । मन्त्री थापाले शनिबार सुर्खेतमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा स्वागत गर्न चाहान्छु, । पछि सहयोगीले सम्झाइदिएपछि उनले नेपाल सरकार नै भनेका थिए । राजतन्त्र फालिएको वर्षौ भइसकेको र देश गणतन्त्रमा गएको अवस्थामा समेत मन्त्रीले श्री ५ को सरकार भनेको भन्दै सर्वत्र आलोचना भएको छ ।