र्‍याम्प बस हटाउने तयारी

193

माघ ५,
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र प्रयोग हुँदै आएका र्‍याम्प बस प्रतिस्थापन हुने भएका छन्। अन्तर्राष्ट्रियस्तरमा पनि अहिले विमानस्थलभित्र विद्युतीय बस सञ्चालन हुन थालेकाले नेपालमा पनि र्‍याम्प बसलाई प्रतिस्थापन गरी प्रदूषणरहित विद्युतीय सवारी सञ्चालन गर्ने तयारी गरिएको छ। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार तत्कालै र्‍याम्प बस हटाइहाल्ने नीति छैन। तर विस्तारै प्रतिस्थापन गर्दै लैजाने नीतिअन्तर्गत आवश्यक छलफल र अध्ययनसहित गृहकार्य सुरु गरिएको छ। उनका अनुसार यो विषयमा केही दिन अघि आन्तरिक वायुसेवा कम्पनीसँग छलफल भएको थियो।

‘अहिले नै डिजेल र्‍याम बस हटाउने सम्बन्धमा कुनै सर्कुलर जारी भएको छैन’, प्राधिकरणको इलेक्ट्रो मेकानिकल विभागका निर्देशक कुलप्रसाद सिम्खडाले भने। उता बस प्रतिस्थापनका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र आन्तरिक वायुसेवा सञ्चालकबीच मतभेद सिर्जना भएको छ। प्राधिकरणले डिजेलबाट सञ्चालन हुँदै आएका र्‍याम बस हटाई विद्युतीय बस ल्याउने योजना बनाएको वायुसेवा सञ्चालक संघले जनाएको छ। प्राधिकरणले भने र्‍याम बसको विवरण मात्र मागिएको जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने आन्तरिक वायुसेवा कम्पनीले टर्मिनल भवनबाट हवाईजहाजसम्म लैजाने र अवतरणपछि टर्मिनल भवनसम्म यात्रु ल्याउन प्रयोग हुँदै आएको र्‍याम बसको प्रदूषण जाँच, सवारीको सिट संख्या, खरिद भएको वर्ष, सवारीको प्रकारको विषयमा विवरण खुलाएर पठाउन पत्राचार गरिएको प्रवक्ता क्षेत्रीले जानकारी दिए।