मंसिर १२,
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री घिमिरेले शुक्रबार विराटनगरको नोबेलसँगै न्यूरो अस्पताल र विराट मेडिकल कलेजको अनुगमन गरेका छन् । सो क्रममा निजी अस्पतालको उपचार खर्च धान्न नसक्ने अवस्थाको रहेको भन्दै बिरामीका आफन्तले सहयोग गरिदिन उनीहरुसँग याचना गरेका हुन् ।
भोजपुरको हतुवागडी–४ कि शान्ति राईका बुबालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर आएका उनलाई ८ मंसिर मा कोरोना पुष्टि भयो । चिकित्सकले भेन्टिलेटरमा राख्नुपर्ने सुझाव दिएपछि उनले सुरुमा सरकारी अस्पतालमै सोधीखोजी गरिन्। तर कतै खाली नभएको पाएपछि बुबालाई नोबेल मेडिकल कलेजमा लगिन् । तर अस्पतालले भर्ना गर्नुअघि नै ३ लाख रुपैयाँ धरौटी माग्यो । शान्तिका अनुसार अहिले दिनको झण्डै ५० हजार रुपैयाँ उपचार खर्च लागिरहेको छ ।
शुक्रबार अस्पताल निरीक्षणका लागि पुगेका मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपचारबारे सोध्दा शान्ति भक्कानिइन् । ‘हामी साधारण नागरिककको पनि ज्यान हो । राम्रो होस् भनेर भेन्टिलेटर खोज्दा सरकारीमा रहेछ’ उनले भनिन्, ‘यहाँ कुरा गर्दा सहुलियत चाहिने हो भने सरकारी अस्पताल जानुस् भनियो । मेरो बाबा जीवन र मृत्युको …..भक्कानिइन् ‘।’अस्पतालको सेवा राम्रो भएपनि उपचार खर्च धान्नै नसक्ने अवस्था रहेको उनले सुनाइन् । नोबेल मेडिकल कलेजमा उपचार गराइरहेको बिरामीका आफन्तले आइसोलेसनको व्यवस्थापन राम्रो नभएको गुनासो गरे । बुबालाई आइसोलेसनमा भर्ना गराएका इनरुवाका त्रिलोकचन्द्र गुुप्ताले अस्पतालले दिएको दुःख सुनाए ।
तप्लेजुङका कृष्ण मोक्तानले बिरामीको अवस्था कस्तो छ भनेर जानकारी पाउनै मुश्किल परेको बताए । बिरामीलाई भेट्न पनि प्रत्येक पटक २ हजार रुपैयाँको पीपीई सेट किन्नु पर्ने उनको गुनासो थियो । ‘औषधि किन्ने पैसा र पीपीई किन्नमै ठिक्क हुन्छ’ मोक्तानले भने । बिरामी कुरुवाले संक्रमितको खानपान र हेरचाह राम्रो नभएको भन्दै सुधारका लागि सहयोग गरिदिन पनि आग्रह गरे ।
मोरङको कटहरी गाउँपालिका–३ का निर्मल राजवंशी कात्तिक ३० देखि विराट मेडिकल कलेजमा आमाको उपचार गराइरहेका छन् । मुख्यमन्त्री पुग्दा उनले दैनिक २० हजारदेखि ४५ हजारसम्मको बिल तिर्नुपरेको दुखेसो गरे । अनुगमनका क्रममा मुख्यमन्त्री शेरधन राईले संघीय सरकारले विपन्न नागरिकको उपचार निशुल्क गर्ने निर्णय गरेको बताउँदै त्यस्ता बिरामीको शुल्क नलिन निर्देशन दिए । -Onlinekhabar