आइसोलेसन सेन्टरलाई कोभिड अस्पतालमा रुपान्तरण

86

कात्तिक ३,
काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमणको दर तीव्र गतिमा बढिरहेको र लक्षणसहितका संक्रमितहरूको समेत वृद्धि हुँदै गइरहेको भन्दै काठमाडौं उपत्यकालगायतका बढी प्रभावित जिल्लाहरूमा साविकमा तयार भइ हाल प्रयोगमा नरहेका र आइसोलेसन सेन्टरको रूपमा विकास गर्न सकिने क्वारेन्टिनलाई पन्ध्र दिनभित्र आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ । गृह मन्त्रालयसँगको समन्वय र सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो आइसोलेशन सेन्टर निर्माण गर्ने निर्णय असोज २६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको सोमबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

बैठकले संक्रमणको दर तीव्र गतिमा विस्तार भइरहेका जिल्लाहरूमा हाल सञ्चालनमा रहेका आइसोलेसन सेन्टरहरूलाई आवश्यकताअनुसार जनरल वार्डको सेवा उपलब्ध हुने गरी कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय समेत गरेको छ । यसैगरी कोभिड अस्पतालको रूपमा रूपान्तरण भएका देशभरिका सबै सरकारी तथा सार्वजनिक अस्पतालहरूमा प्रत्येक प्रदेशमा कम्तीमा २०० र काठमाडौं उपत्यकामा २ हजारको सङ्ख्यामा आवश्यक सुविधा र उपकरणसहितका हाइडिपेन्डेन्सी यूनिटको रूपमा पन्ध्र दिनभित्र स्तरोन्नति गर्ने निर्णय समेत भएको छ ।