कार्तिक २,
कैलाली । धनगढीको मोहना नदी किनारमा भेटिएको शव वेपत्ता प्रहरी सहायक निरीक्षक गोविन्द बिकको भएको पुष्टि भएको छ । मोहना नदीको किनारमा घोप्टो अवस्थामा भेटिएको शव वेपत्ता प्रहरी सहायक निरीक्षक बिकको भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले जानकारी दिए । धनगढी उपमहानगरपालिका–१२ को जुगेडास्थित अस्थायी प्रहरी विटको इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) बिकको घाँटीमा चोट रहेको उनको भनाइ छ ।
उनीसँगै ड्युटीमा खटिएका बेला वेपत्ता भएका प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अज्ञात रहेको छ । चौकीबाट मोटरसाइकलमा राति साढे ८ बजे गस्तीमा निस्किएका दुवै जना साढे १० बजेदेखि सम्पर्कविहीन भएको बताइएको छ ।