कोही वर्षौंसम्म साथीको सम्बन्धमा रहेर त कोही एकदम अपरिचित अनुहारसँग, जब सम्बन्धको अटुट बन्धनमा बाँधिन्छन् तब उनीहरुको संसार पहिलेको भन्दा निकै परिवर्तन हुनेगर्छ । थुप्रै कुरा पछि छुट्छन् त थुप्रै नयाँ गाँसिन्छन् । एक–अर्काप्रति जिम्मेवारी र इमान्दारीता वैवाहिक सम्बन्धको सबैभन्दा महत्वपूर्ण शर्त हुन् । यो पवित्र सम्बन्धमा बाँधिनका लागि उमेरसँगै आपसी समझदारी पनि अत्यावश्यक छ । साथै, एक–अर्काको कुरा सुन्ने र बुझ्ने पनि गर्नुपर्छ । त्यसकारण आफ्ना आवश्यकता र त्यसको महत्वलाई बुझ्नुहोस् र एक खुसी वैवाहिक जीवन बाँच्नुहोस् ।
हामीले देख्ने गर्छौं कि विवाहित जोडी विभिन्न कुराका लागि सम्झौता गर्दैनन् तर तपाईंले बुझ्नुपर्छ कि सम्बन्धमा स–साना कुरामा सम्झौता गर्नु कमजोरीको निशानी होइन । यसले तपाईं आफ्नो सम्बन्धलाई निकै महत्व दिनुहुन्छ भनेर दर्साउँछ । यो सम्बन्धलाई धेरै मिठो र धेरै नुनिलो नबनाउनुहोस्, थोरै अमिलो र थोरै गुलियो बनाउनुहोस् ।
केही भन्नुहोस्, केही सुन्नुहोस्ः
एक सफल वैवाहिक जीवनका लागि मानिसहरुले विभिन्न सल्लाह दिन्छन् । नदिउन् पनि कसरी, विवाह एउटा यस्तो सम्बन्ध हो जसले दुई व्यक्ति र दुई परिवारलाई एक–आपसमा जोड्ने काम गर्छ । विवाहबारे हामी धेरैजसो ती पुराना पारम्परिक धारणाबारे सोच्ने गर्छौं जुन साथीहरु र आफन्तमार्फत एक पीढिबाट अर्को पीढिमा सुम्पिइन्छ । समयमा विवाह गर्नु, समयमै बच्चा जन्माउनु । यी सबै कुरामा थुप्रै पटक तपाईंको आफ्नो सपना गुमिरहेको हुन्छ । ४० वर्षे रेनू जैन भनिन्छन्, ‘रोमान्टिक सम्बन्धमा आउनुअघि म र मेरा श्रीमान् २० वर्षसम्म राम्रा साथी थियौं ।’
उनी थप्छिन्, ‘हाम्रो केमेष्ट्रि निकै राम्रो थियो र एक–अर्काबारे सबैकुरा थाहा थियो । विवाहको सात वर्षपछि हामीलाई थाहा भयो कि हामी एक–अर्कालाई प्रेम नगर्ने रहेछौं । हामीलाई भ्रम भएको रहेछ । म निकै खुल्ला विचार भएको परिवारकी थिएँ र उनको परिवार निकै पुरानो सोच थियो । म रेडियो जकी थिएँ र म निकै लामो समयसम्म अफिसमा बस्नुपर्दथ्यो जुन उनको परिवारलाई मनपर्दैनथ्यो । उनीहरु मैले घरको जिम्मेवारी सम्हालोस् भन्ने चाहन्थे । हाम्रो विवाह त टिकेन तर आज पनि हामी राम्रा साथी छौं । हामीलाई लाग्छ कि हामीले विवाह नै गर्नु हुँदैनथ्यो । आज पनि हामी कुरा गर्छौं सक हाम्रो झगडा धेरैजसो समाजको दबाबका कारण हुने गर्दथ्यो । जस्तैः हामीलाई बच्चा जन्माउने दबाब दिइन्थ्यो जबकी हामी दुई नै यसका लागि तयार थिएनौं ।’
मनोवैज्ञानिक डा. प्राजक्ता भन्छिन्, ‘दोस्ती जब प्रेममा परिणत हुन्छ तब केही समस्या निम्तिन सक्छ । जब तपाईं साथी हुनुहुन्छ, सँगै समय बिताउनुहुन्छ भने एक–अर्कालाई राम्रो तरिकाले बुझ्नुहुन्छ । अर्कोतर्फ विवाह गरेपछि आ–आफ्नो विचार, उद्देश्य, पैसा र कामलगायतका विभिन्न कुरामा समान विचार राख्नुपर्छ । स–साना कुरालाई आफ्नो इच्छा वा इच्छा बेगर गर्दा कुनै नियममा बाँधिनु पनि सम्बन्धमा तनावको कारण हुनसक्छ ।’
डाक्टर प्राजक्ताका अनुसार बच्चाको जन्मपछि काम र तनाव त बढ्छ नै तर आमा–बुवाबीचको सम्बन्ध निकै बलियो हुनुपर्छ । यदि अभिभावकको विचार बच्चाको लालन–पालनमा मेल खाँदैन भने झगडा पक्कै पनि हुन्छ । बच्चा जन्माउनु अघि आफूहरु दुईजना उक्त जिम्मेवारी उठाउन समान रुपमा तयार हुनुहुन्छ कि हुँदैन भन्नेबारे सुनिश्चित गर्नुपर्छ ।
मनोचिकित्सक र थेरापिस्ट डाक्टर सुरेश देशमुख भन्छन्, ‘प्रसन्नता, दुःख, रिस, ईष्र्या र अपराधबोध सामान्य मनोभाव हो । आफ्नो पार्टनरलाई यस्ता भाव नदेखाउनु लामो सम्बन्धको लागि राम्रो होइन । बहस आवश्यक छ, झगडा हुनु पनि ठिक हो तर त्यतिबेला जब तपाईं जित्नका लागि नभई ‘कमन ग्राउन्ड’ मा पुग्नका लागि झगडा गरिरहनुभएको छ । आफ्नो पार्टनरलाई आफ्नो रिस देखाउनुहोस्, तर आफ्नो मनोभावलाई प्रकट गर्ने सही तरिका पनि सिक्नुहोस् । जब पत्रकार मिताले एक आर्मी अफिसरसँग डेटिङ सुरु गरिन् तब धेरैले उनलाई आफ्नै कार्यक्षेत्रकोसँग विवाह गर्न सल्लाह दिन्थे । मिता भन्छिन्, ‘हामी दुईको दुनियाँ निकै भिन्न थियो र हाम्रो जीवनशैली पनि मेल खाँदैनथ्यो । हाम्रो व्यक्तित्व पनि निकै अलग थियो । श्रीमान् अन्तर्मुखी थिए म बहिर्मुखी । उसलाई घरमा बस्न मनपर्दथ्यो भने मलाई बाहिर घुम्न । आज उनी घरमा बसेर खुसी हुन्छन् म बाहिर डुलिरहन्छु । हामी एक–अर्काको इच्छाको सम्मान गर्छौं । कहिले कुनै समस्या हुँदैन । हामी दुई खुसी छौं ।’