साउन ३२
काठमाडौं । आइतबार राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् । यसअघि जनकपुरधाममा मात्रै रहेको निषेधाज्ञालाई धनुषा जिल्ला प्रशासन कार्यालयले जिल्लाभर विस्तार गरेको छ ।
निषेधाज्ञाको समयमा बिहान १० बजेसम्म पसल खोल्न दिइने भएको छ । पसल खोल्दा, व्यवसाय सञ्चालन गर्दा मास्क, पञ्जा, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दूरीको पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले जारी गरेको सूचनामा भनिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय भएको उनले बताए । यसअघि जनकपुरधाममा १९ साउनदेखि २५ साउनसम्म र दोस्रो पटक २६ साउनदेखि ३२ साउनसम्मका लागि निषेधाज्ञा जारी गर्ने आदेश भएको थियो ।