साउन २१,
काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डका अनुसार मंसिर ४ गते आफूलाई कार्यकारी अध्यक्ष बनाउने सहमतिपछि उनले स्थायी र केन्द्रीय कमिटीको एकरएक बैठकको अध्यक्षता गरे । त्यो बैठकमा जनवादी छलफल भएको थियो र त्यसले लिएका निर्णयहरु पनि मूलभूत रुपमै सही भएको उनको दाबी छ ।
तर त्यो सफलता अर्का अध्यक्ष केपी ओलीका लागि विडम्बना बन्न पुगेको उनले बताए । अब आफूहरु रक्षात्मक हुने भयौं भनेर ओली समूहले भेला गरेर पोलिसी सिफ्ट गरेको भन्दै उनले भने, ‘पूर्व एमालेहरुलाई एक बनाउनुपर्छ । पूर्वमाओवादीमा पनि तान्नुपर्छ र प्रचण्डमाथि आक्रमण गर्नुपर्छ भनियो ।’
त्यही रणनीति अनुसार ओलीले पार्टी सचिवालयको निर्णयसमेत मान्दिन भनेको उनले सुनाए । पार्टीमा बहस भइरहेका बेला आफूसँग बदला दिने गरी निर्णय हुन थालेको भन्दै उनले भने, ‘मैले गरेका निर्णयहरु उल्ट्याउने, मसँग भेट्न गएकै कारण अपमानित गर्नेदेखि पार्टी बैठकमा कुर्सी हटाउने कामसमेत भयो ।’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुले पार्टीमा चलिरहेको बहस पदको झगडा नभएको प्रष्टिकरण दिएका छन् ।
पार्टीसम्वद्ध सञ्चारकर्मीसँग बुधबार भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा विचार, नीति, विधि, पद्धतीका लागि संघर्ष भइरहेको बताए । केपी ओली र प्रचण्डको बीचमा पदको लडाई हो भन्ने प्रचार भइरहेको भन्दै चारै नेताले त्यसको खण्डन गरे । ‘पार्टीभित्रको बहसलाई जसरी पदको निम्ति छिनाझपटी हो कि भनिएको छ, त्यो होइन’ अध्यक्ष प्रचण्डले भने ।
आफूहरुले नेतृत्व लिन नभई पद त्यागका रुपमा पार्टी एकता गरेको र मंसिर ४ मा आलोपालो सरकार चलाउने सहमति पनि छाडेको स्मरण गर्दै नेकपा अध्यक्ष प्रचण्डले भने, ‘मैले त उदारतापूर्वक र झमेला पनि हुने देखेर सहमति गरेको हुँ । मलाई त प्रधानमन्त्री हुने हतारो पनि छैन, रुची पनि छैन ।’